कोरोना भाईरसका कारण वुहान सहरमा नेपाली विद्यार्थीहरूको विजोग

काठमाण्डौं/२० माघ– गत डिसेम्बरमा हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस अहिले बिस्तारै संसारका अन्य विभिन्न देशमा फैलिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले गत बिहीबार मात्रै विश्वमा महामारी फैलिने सक्ने भन्दै विश्व स्वास्थ्य आपत्काल नै घोषणा गरेको छ । चीनमा उक्त भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय नाघिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कोरोनाभाइरसले ३ सय ४ जना चिनियाँको ज्यान लिएको छ भने १२ हजारभन्दा बढी चिनियाँमा यसको संक्रमित भएको देखिएको छ ।


कोरोना भाईरसका कारण चीनमा धेरै जनाको अकालमै मृत्यु भईरहेको अवस्थालाई देखेर विश्वविद्यालयको छात्रावासमा बस्ने नेपाली विद्यार्थीहरूलाई एउटै भवनको एक कोठाबाट अर्को कोठामा निस्कन समेत गाह्रो भएको छ । पिचएडीको थेसिस लेखिरहेका अशोक शाहका अनुसार ‘हामी अहिले एउटै कोठाभित्र खाना पकाउँछौं, त्यहीँ सुत्छौं, त्यहीँ पढ्छौं, बाथरूम पनि भित्रै भएकोले गर्दा सहज भएका कारण कोठा बाहिर निस्कदैनौं । अरू देशका साथीहरू घर फर्किएकाछन् । हामी कहिले जाने होलाजस्तो भन्ने लागिरहेको छ । अझै कति दिन यसरी समय बिताउनुपर्ने हो तनाव भईरहेको अवस्था छ ।’ त्यस्तैगरि, विच्याटमा चीनमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले आफ्नो समस्या व्यक्त गर्दै अन्य मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता बोलाइरहँदा आफ्नो देशले भने आफूहरूलाई वास्ता नगरेको र यसले यहाँ भएका हामी नेपाली विद्यार्थीलगायत अन्य नेपाली नागरिकहरूको समेत मानसिक तनाव बढिरहेको दुःखेसो व्यक्त गरेका छन् ।


चीनको हुवेई प्रान्तको राजधानी वुहान सहर एक महिनाअघि सम्म ग्लोबल सिटी थियो । विभिन्न देशका मानिसहरू अध्ययन, व्यवसाय र कामका शिलशिलामा उक्त सहरमा बस्थे । त्यहाँ मानिसहरूको निकै नै चहलपहल हुने गर्दथ्यो । तर, गत जनवरी २२ यता भने वुहानमा कुनै पनि किसिमको चहल पहल देखिएको छैन, त्यहाँको रौनक नै सकिएको छ । चारैतिरका सडक सुनसान छन् । कुनै गाडी गुड्दैनन्, रेलवे स्टेशनहरू पनि ठप्प छन् । डिसेम्बरदेखि फैलिएको नोवेल कोरोनाभाइरसले चीनको जनजीवन मात्र प्रभावित पारेको छैन । विश्वलाई नै भय र त्रासमा पु¥याईरहेको अवस्था छ ।

WUHAN, CHINA – JANUARY 27: (CHINA-OUT) Two residents walk in an empty Jiangtan park on January 27, 2020 in Wuhan, China. As the death toll from the coronavirus reaches 80 in China with over 2700 confirmed cases, the city remains on lockdown for a fourth day. (Photo by Getty Images)


चीनमा रहेका नेपाली विद्यार्थी र अन्य कामका शिलशिलामा गएका नेपाली नागरिकहरूको अवस्थालाई बुझेर नेपाल सरकारले वुहानमा रहेका नेपालीहरूको उद्धार गर्ने भनेको छ । तर नेपाल ल्याएर कुन ठाउँमा राख्ने भन्ने टुंगो नलागेकाले जहाज पठाउन सकिरहेको छैन । अधिकारीहरूका अनुसार वुहानमा जहाज पठाउन अझै एक दुई दिन लाग्न सक्छ ।