पूर्वाग्रही रुपमा शिक्षक सरुवा नगर्न नेपाल राष्ट्रिय शिक्षक संगठनको आग्रह

स्याङ्जा/३२ असार-दरबन्दी मिलानका क्रममा सरुवा जान नमान्ने शिक्षकलाई स्वतः अवकास दिने निर्णय प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन पुतलीबजार नगर कमिटी, स्याङ्जाले असहमति जनाएको छ । अस्थायी, करार एवम् राहत शिक्षकहरुलाई बाग्लुङ र नवलपरासी सरुवा गरीएपछि सरुवाको निर्णय प्रति संगठनले असहमति जनाएको हो ।


संगठनले प्रेस विज्ञप्ति जारी गरी स्याङ्जा जिल्लाका अन्य पालिकाहरुमा पनि दरबन्दी मिलानको काम बाँकी रहेको र देश भरी नै यथास्थितिमा रहेको सन्दर्भमा पूर्वाग्रही रुपमा पुतलीबजार नगरपालिकाले दरबन्दी मिलानको विषयलाई उठाएर हतारो गर्नुपर्ने अवश्यकता नरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।


नेपाल सरकारले दरबन्दी अनुसारको रकम निकासा गरीरहेको अवस्थामा पालिकाबाट ४२ जना शिक्षकहरुलाई जिल्ला बाहिर पठाउँदा नगरपालिकामा शिक्षक संख्या कम हुन गई विद्यालय खुल्ने तर, पठनपाठनको अवस्था अस्त व्यास्त हुने विज्ञप्तिमा उल्लेख गरीएको छ ।


साथै शिक्षा ऐन नियमावली विपरित शिक्षकको सहमति वेगर पूर्वाग्रहपूर्ण सरुवा गरीएकोले निर्णय अबिलम्ब फिर्ता लिई शैक्षिक आतंक बन्द गर्न चेतावनी दिएको छ ।