शिक्षा सेवा खारेज गरी प्रशासन सेवा भित्र गाभ्ने : शिक्षा मन्त्रालय

काठमाडौं/१५ माघ–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षा सेवालाई खारेज गर्न संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई पत्र पठाएको छ ।
नेपाल शिक्षा सेवालाई खारेज गरी नेपाल प्रशासन सेवा भित्र कायम गराउन शिक्षा प्रशासन सञ्चालन गर्नुपर्ने देखिएको भन्दै मन्त्रालयले समितिमा पत्राचार गरेको हो । देश संघीय संरचनामा गईसकेपछि प्रदेश र स्थानीय स्तरमा अधिकांश कर्मचारी पदमिलान र समायोजन भई सकेकाले नेपाल शिक्षा सेवा राखिरहनु पर्ने औचित्य नदेखिएको बताउँदै पत्रमा भनिएको छ, “अत : नेपाल शिक्षा सेवालाई खारेज गरी नेपाल प्रशासन सेवा भित्रै शिक्षा प्रशासन समूह/उपसमूह रहने गरी सञ्चालन गर्नुपर्ने देखिएको छ ।”
नेपाल शिक्षा सेवा र सो अन्तर्गतका उपसमूहमा कूल दरबन्दी ५ सय ५१ र १ सय ५५ पुल दरबन्दी रहेको छ । नेपाल शिक्षा सेवा भन्दा ठुला आकारका लेखा समूह र राजश्व समूह विगतदेखि नै नेपाल प्रशासन सेवाभित्रै सञ्चालित रहेकोले पनि सोही नीति अन्तर्गत रही नेपाल शिक्षा सेवालाई प्रशासन सेवाभित्रै समूह/उपसमूह कायम गरी सञ्चालन गर्न आवश्यक व्यवस्था गर्न लागिएको पत्रमा उल्लेख छ ।