हट्यो गणित विषय, उच्च शिक्षामा प्रभाव

 

काठमाडौं/१२ माघ– माध्यमिक तह (कक्षा ११ र १२) मा गणित विषयलाई अनिवार्य र ऐच्छिक विषयबाट हटाएर राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ सार्वजनिक गरेको छ ।
करिब दुई वर्ष अगाडि तयार पारेको पाठ्यक्रम प्रारुपमा कक्षा ११ र १२ मा गणितलाई अनिवार्य र ऐच्छिक विषयबाट हटाइएको हो । यस अघि प्रारुपमा कक्षा ११ र १२ मा गणित विषयलाई ऐच्छिक विषयका रुपमा राखिएको थियो । गणित विषय गाह्राे हुने भएकाले ३ लाख विद्यार्थीहरुबाट बोझ हटाउनका लागि माध्यमिक तह कक्षा ११ र १२ मा इच्छाधिन विषयका रुपमा गणित विषयलाई राखिएको सरकारको दाबी थियो । यसको चौतर्फी विरोध भएपछि विज्ञान विषय लिएका विद्यार्थीहरुले चाहेको खण्डमा गणित विषय पढ्न पाउने व्यवस्था गरिएको थियो ।
तर, भर्खरै सार्वजनिक गरिएको प्रारुपमा फेरि गणित विषयलाई हटाइएको छ । सार्वजनिक प्रारुपमा विज्ञान विषयहरु बायोलोजी, फिजिक्स र केमिस्ट्री पढ्ने विद्यार्थीहरुले चाहेर पनि गणित विषय पढ्न पाउने छैनन् । उनीहरुले ‘ननक्रेडिट’ अन्तर्गत भने गणित विषय पढ्न सक्नेछन् । । गणित विषय अध्ययन चाहानेले सातौं विषयका रुपमा पढ्न पाउने व्यवस्था प्रारुपमा गरिएको छ । यो व्यवस्थाप्रति नेपाल गणित समाज, गणित केन्द्रीय विभाग, स्कुल अफ म्याथमेटिकल साइन्स, म्याथमेटिकल एसोसिएशन अफ नेपाललगायतले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए । उनीहरुले निहित स्वार्थ परिपूर्तिका लागि विद्यार्थीहरुलाई उत्तीर्ण मात्र गराउने उद्देश्य राखेर गणित विषयको महत्वलाई बेवास्ता गरी प्रतिस्थापन गर्न खोजेको बताए ।

आगामी शैक्षिक सत्रमा कक्षा ११ र १२ मा तीन अनिवार्य विषय र तीन ऐच्छिक विषयका रुपमा विद्यार्थीहरुले ६ वटा विषय अध्ययन गर्नुपर्ने हुन्छ । यसअघि विद्यार्थीहरुले पाँच वटा विषय अध्ययन गर्दै आइरहेका थिए । कक्षा ११ मा अंग्रेजी, नेपाली र सामाजिक विषयलाई अनिवार्य विषयका रुपमा राखिएको छ भने कक्षा १२ मा अंग्रेजी, नेपाली र जीवन उपयोगी विषयलाई अनिवार्य बनाइएको छ । यसैगरी, विद्यार्थीहरुले ऐच्छिक पहिलो पत्र, ऐच्छिक दोस्रो पत्र र ऐच्छिक तेस्रो पत्रबाट एक÷एक वटा विषय छनोट गरी अध्ययन गर्न सक्छन् । ऐच्छिक पहिलो पत्रमा १५, दोस्रो पत्रमा १४ र ऐच्छिक तेस्रो पत्रमा ३० वटा विषय रहेका छन् । यी तीन वटै ऐच्छिक पत्रमा गणित विषयलाई समावेश गरिएको छैन । यसकारणले गर्दा विद्यार्थीहरुले चाहेर पनि अनिवार्य वा ऐच्छिक विषयका रुपमा गणित विषय अध्ययन गर्न पाउँदैनन् ।

केन्द्रले सार्वजनिक गरेको प्रारुपमा माध्यमिक तह कक्षा ११ र १२ को शिक्षालाई साधारण, प्राविधिक तथा व्यावसायिक र परम्परागत गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ । प्रारुपमा माध्यमिक तह कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम संरचना एकलपथको हुने भनिएको छ । यसैगरी माध्यमिक शिक्षा (कक्षा ११ र १२) मा सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा विषय अन्तर्गत न्यूनतम एक पाठ्यघण्टा बराबरको सूचना प्रविधि सम्बन्धी विषय वस्तु समावेश गरिनेछ ।

किन आवश्यक छ त गणित विषय ?
गणित विषय विज्ञान, व्यवस्थापन, मानविकी एवम् अधिकांश प्राविधिक विषयमा आवश्यक विषय हो । विश्वविद्यालय तहमा विभिन्न विषय अध्ययन गर्नका लागि माध्यमिक तह कक्षा ११ र १२ मा गणित विषय पढेको हुनुपर्छ । कतिपय विषयहरु अध्ययन गर्नका लागि त्रिवि तथा अन्य विश्वविद्यालयहरुमा भर्ना हुनका लागि गणित पढेको हुनुपर्छ । विश्वविद्यालय तहमा इन्जिनियरिङ, बीए, बीएस्सी आईटी, बीबीए अध्ययन गर्नका लागि गणित विषय अध्ययन गर्नुपर्छ । यसैगरी, लोक सेवा आयोगले लिने परीक्षामा पनि गणितको ज्ञान आवश्यक छ भने विदेशमा गएर अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि पनि गणित विषय अनिवार्य छ । विदेश अध्ययन गर्न जाँदा विद्यार्थीहरुले जीआरई, जीम्याट, स्याट उत्तीर्ण गर्नुपर्छ । जसमा गणित समेतको परीक्षा हुन्छ । यसैगरी, पोखरा, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयहरुमा सूचना प्रविधिका विषयहरु अध्ययन गर्नका लागि कम्तिमा सय पूर्णांकको गणित उत्तीर्ण गरेको हुनुपर्छ भने कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयहरु अध्ययन गर्नका पनि ५० र १०० पूर्णांकको गणित अनिवार्य रुपमा पास हुनुपर्छ । गणित विषय नै हटाएपछि विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न समस्या हुन्छ ।