काठमाडौं /२१ असार- आइतबार वसेको काठमाडौं, भक्तपुर, ललितपुरका तीन जिल्ला अधिकारीको छलफलले निषेधाज्ञालाई खुकुलो बनाउदै लैजाने निर्णय गरेका छन् । प्रशासनले निषेधाज्ञाका धेरै प्रावधान हटाएको छ । निषेधाज्ञा र जोर बिजोर प्रणाली हटाउने निर्णयसँगै भौतिक रुपमा परीक्षा सञ्चालन गर्न अनुमति दिने भएको छ ।
परीक्षा सञ्चालन हुने कुनै एक स्थान हत तथा कोठाको आकार अनुसार एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी नहुने गरी परीक्षा सञ्चालन गर्न पाइने छ । एकै दिनमा २५ जनाभन्दा बढी संख्या जम्मा हुने अवस्था रहे दुई सिफ्टमा सञ्चालन गर्न भनिएको छ । परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालना अनिवार्य गर्न भनिएको छ ।
एउटा सिफ्टका सबै व्याक्तिहरु परीक्षास्थलबाट पूर्ण रुपमा बाहिरिए पछि मात्र अर्को सिफ्टको परीक्षा सञ्चालन गर्नु पर्ने छ । मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ ।
कोभिड–१९ भाइरसका कारण कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरु रोकिएका थिए । तर, स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् ।



