प्रवेश परीक्षामा प्रत्येक ७२ घण्टामा पिसिआर परीक्षण गर्नुपर्ने प्रावधान अव्यवहारिक


काठमाडौं /१९ असार – पाँच विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा प्रत्येक ७२ घण्टामा पटक–पटक पिसिआर परीक्षण गर्नुपर्ने प्रावधान अत्यन्तै अव्यवहारिक रहेको भन्दै प्रावधान परीवर्तन गर्न भनेका छन् ।


उनीहरुले ५ वटा सम्म परिक्षा दिने विद्यार्थीलाई पहिलोपटक गरिएको पीसीआर टेस्ट वा एन्टिजेन्ट टेष्टलाई मान्यता दिई परीक्षामा सामेल गराउन माग गरेका छन् ।


त्यसैगरी राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा भइरहेको वेथिति विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्दै आएका पाँच विद्यार्थी संगठनहरुले शनिबार मशाल जुलुससहित सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको बताएका छन् ।


साथै शुक्रबार पाँच विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गदै काठमाडौं महानगरपालिकाले रत्नपार्कको भित्तेचित्र मेटाएर स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम गरेको भन्दै मेयर विद्यासुन्दर शाक्यलाई माफी माग्न आग्रह गरेका छन् ।


“रत्नपार्कमा बनाइएको भित्तेचित्र मेटेर काठमाडौं महानगरपालिकाले अत्यन्तै आपत्तिजनक कार्य गरेको र स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कामनपाका मेयरलाई तत्काल माफी माग्न आग्रह गर्दछौ” विज्ञप्तिमा भनिएको छ ।


विज्ञप्तिमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु (माधव नेपाल समूह)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर रहेको छ ।