सुर्खेत/११ असार- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले प्रारम्भिक बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको लागि तलब रु.१५ हजार सुनिश्चित गर्ने गरि बजेट विनियोजन गरको छ ।
नेपाल सरकारले स्थानीय तहसंगको साझेदारीमा ८ हजार केन्द्र सरकारले र ७ हजार स्थानीय तहले ब्यवस्थापन गर्नुपर्ने भनि लिएको नीति अनुरुप बजेट विनियोजन गरको छ हो ।
त्यसैगरी संक्षिप्त पाठ्यक्रम तर पूर्ण सिकाइको कार्यान्वयन गर्दे लकडाउन अबधिको शैक्षिक क्षतिलाई पूरा गर्न मंसिरदेखि फाल्गुणसम्मको अवधिमा विद्यालयमा अनबरत रुपमा शिक्षण सिकाइ अभियान सञ्चालन गर्ने भएको छ । कक्षा ११ र १२ सञ्चालन भएका प्रत्येक विद्यालयमा बैकल्पिक शिक्षण सिकाइ र मूल्यांकन प्रणालीलाई संस्थागत गर्ने योजनामा रहेको छ ।
आगामी आर्थिक वर्षमा केही लक्षित क्षेत्रमा फ्रि वाइफाइ जडान, दृष्टि विहीन बालबालिकाको निरन्तर शिक्षाका लागि रेडियो र विद्यालय मार्फत विद्यार्थीका लागि शैक्षिक सामग्री बितरण गर्ने छ ।
न्यूनतम् शैक्षिक भौतिक पूर्वाधार नभएका विद्यालयहरुलाई मर्जर (सामुदायिक–सामुदायिक, संस्थागत–संस्थागत र सामुदायिक–संस्थागत ) मा जान प्रोत्साहित गर्ने र विद्यालयहरुलाई राइटसाइजिङ र डाउनसाइजिङ गरी स्मार्ट स्कूलमा रुपान्तरण गर्ने भएको छ ।
संस्थागत विद्यालयहरुबाट लिने गरिएको कक्षा ८ को परीक्षा शुल्कमा पूर्ण रुपमा छुट गरिनेछ । नगरपालिकाको लगानीमा संस्थागत विद्यालयका शिक्षकको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ । साथै, संस्थागत विद्यालयको पूर्वाधार निर्माणमा निःशुल्क परामर्श सेवा प्रदान निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
साथै स्थानीय पाठ्यक्रम (हामी र हाम्रो वीरेन्द्रनगर) का आधारमा पाठ्यपुस्तक विकास र छपाइ गरी सामुदायिक र संस्थागत विद्यालयहरुमा निःशुल्क वितरण गर्ने र स्थानीय पाठ्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयबाट वीरेन्द्रनगरको स्थानीय पहिचान र संभावनाको प्रर्वद्धन गरिने जनाएको छ ।
न्यूनतम् शिक्षक दरबन्दी नभएका विद्यालयहरुमा शिक्षक अनुदान मार्फत अंग्रेजी, विज्ञान र गणितका विषयका शिक्षकहरुको व्यवस्थापन गर्न कर्णाली प्रदेश र शिक्षा क्याम्पस सुर्खेतसँगको सहकार्यमा स्वंसेवक शिक्षक परिचालन कार्यक्रम ईन्टर्नसीप सञ्चालन निति लिएको छ ।



