काठमाडौं/ ११ जेठ – काठमाडौं विश्वविद्यालय प्रध्यापक संघले विश्विद्यालयले झापाको प्रस्तावित वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा लिखित रुपमा आपत्ति जनाएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
विश्वविद्यालयको ८९ औ सभामा एजेण्डमै नभएको मेडिकल कलेज सम्बन्धको विषय प्रवेश गराई वि एण्ड सी कलेजलाई सम्बन्धन दिन दवाव दिइएको र सो कुरा सभाको माइन्युटमा आएपछि काठमाडौं विश्वविद्यालय प्रध्यापक संघले लिखित रुपमा आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।
डा.गोविन्द केसि को अनशन र आवाजकै कारण प्रध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमाका लागि गठित उच्चस्तरीय कार्य दलले कुनै विश्वविद्यालयले चिकित्सा क्षेत्रमा ५ वटा भन्दा बढी सम्बन्धा दिन नसक्ने भन्ने निक्र्यौल अनुरुप चिकित्सा शिक्षा ऐनमा पनि कुनै पनि विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धा दिन नपाउने उललेख छ । तर वर्तमान अवस्थामा काठमाडौं विश्विद्यालयले आफुले सम्बन्धन दिएकै कलेजहरुको अनुगमन र निरीक्षण गर्न हम्मे हम्मे परिरहेको वेला थप सम्बन्धनका लागि चिकित्सा शिक्षा ऐन लत्ताई विश्वविद्यालयलाई अनुचित र अवाञ्छित दबाब दिनु घोर आपत्तिजनक रहेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “सरकारले आफ्ना क्षेत्रिय विश्वविद्यालयको क्षमता विकास गरी चिकित्सा शिक्षा प्रदान गर्न सक्ने बनाउनुको सट्टा काठमाडौं विश्वविद्यालयलाई नै सम्बन्धनका लागि दबाब दिने र चिकित्सा शिक्षा ऐन लाई नै लत्याउने कुरा अस्वीकार्य छ ।”
साथै मेडिकल कलेज सञ्चालक द्धारा डा. गोविन्द केसीको नेतृत्वमा क्रियाशिल शिक्षा सुधार अभियानका एक सक्रिय सदस्यलाई अपशब्द प्रयोग गर्दे भौतिक आक्रमण गर्ने धम्की प्रति काठमाडौं विश्वविद्यालय प्रध्यापक संघले आपत्ति जनाएको छ ।




