निजामती कर्मचारी राष्ट्रसेवक हुने शिक्षक नहुने राज्यको यो विभेद किन ?

चितवन/ ११ जेठ- Global Teacher Status Index अनुसार स्विजरल्याण्डको ज्यूरिख क्षेत्रमा काम गर्ने शिक्षकले १३ महिनाको तलब प्रणाली अन्तर्गत वार्षिक १,१०,००० डलर प्राप्त गर्दछन । यो नै शिक्षकको विश्वको सबै भन्दा वढी तलवमान हो।जबकी लाइबेरिया,नाइजर,हंगेरी र सेरालियोनमा शिक्षकको तलव सबैभन्दा कम भएको भनिन्छ ।

एक सर्वेक्षण अनुसार महत्वपूर्ण १४ पेशाहरु मध्ये शिक्षण एकाध बाहेक धेरै देशहरुमा रोजाईको हिसाबले माथिल्लो प्राथमिकतामा नपरेको प्रतिबेदन पढ्न पाइन्छ। शिक्षकलाइ सम्मान गर्ने देशहरुमा चिन र मलेसिया संसारकै एक नम्वरमा पर्दछन् भने अर्को छिमेकी देश भारत विश्वको १० औं स्थान भित्र पर्दछ। मलेसिया,चिन र घानामा वालवालिकालाई शिक्षक बन्न अधिक प्रोत्साहन गरिन्छ।ब्राजिल र इजरायल शिक्षकलाइ कम सम्मान गर्ने देशहरुमा पर्दछ ।

यशियामा सिंगापुर,थाईल्याण्ड ,कुबेत,भियतनाम र फिलिपिन्समा शिक्षकको तलवमान वढी रहेको पाइन्छ। सिंगापुरका शिक्षकको तलव वार्षिक झन्डै ५५,००० डलर रहेको छ तर त्यो उसको जिडीपि परक्यापिटको जम्मा ७०% मात्र हो।थाईल्याण्डमा शिक्षकको तलव जीडीपी परक्यापिट आम्दानी भन्दा २.६ गुणा वढी रहेको भनिन्छ । सिंगापुरको शिक्षा राम्रो भए पनि त्यहाका मानिसहरुको रोजाइमा शिक्षण पेशा अन्य १० ओटा पेशा भित्र पर्दैन।जिडीपि परक्यापिटको आधारमा दक्षिण कोरियाले शिक्षक तलवमा सबैभन्दा वढी अर्थात् १७५% व्यहोर्दो रहेछ ।

अन्य देशहरुमा शिक्षकको कार्य समय ८ देखि १० /११ घण्टा सम्मको हुने गरेको देखिन्छ । उनीहरु शिक्षणका अलावा पाठयोजना बनाउने,गृहकार्य परिक्षण गर्ने लगायतका कामहरु विद्यालयमै गर्दछन।कोलम्बियाका शिक्षकले वार्षिक सबै भन्दा बढी घण्टा काम गर्दछन।यस हिसावले हामी नेपाली शिक्षकहरुको साप्ताहिक कार्य घण्टा धेरै हल्का छ।नेपाली शिक्षक समुदायले आफ्नो कामलाई bell–to–bell job को रुपमा मात्र लिएको देखिन्छ । यसमा सुधार हुनु पर्ने देखिन्छ ।

नेपालमा शिक्षकहरुको तलवमान छिमेकि देशहरु चिन,भारत र पाकिस्तान लगायतका भन्दा न्यून छ। त्यति मात्र होइन असमान र वहुवर्गीकृत तलवमानका र अस्थायी कामचलाउ प्रकृतिका शिक्षक व्यवस्थापन सबैभन्दा डरलाग्दो स्थितिमा रहेकोछ । प्रसङ्ग के भने नेपालमा निजामती कर्मचारीलाई राष्ट्रसेवक भनिने र सोहि अनुसार तलवका अतिरिक्त अन्य सेवा सुविधाहरुमा बढी प्राथमिकता दिने गरिएको असमान व्यवहार किन भन्ने हो । शिक्षा सेवा आयोग र लोकसेवा आयोग दुवै संबैधानिक आयोगहरु हुन् । श्रेणी,योग्यता,क्षमता र अन्य सबै कुरा एकै हुँदा हुदै पनि असमान सेवा सुविधा निर्धारण गरिनु न्यायसंगत छैन ।

त्यहि शिक्षकले पढाएर डाक्टर,ईन्जिनियर,पाइलट,वकिल र कर्मचारी आदि बन्ने अनि कार्मचारीहरुले आफू भान्से भईयो भनेर आफ्ना गुरूहरुलाई न्यूनकोटीको देख्ने यो कुन संस्कार हो ? त्यसैले वजेट तयारीको यस क्षणमा सरोकारहरुको ध्यान जाओस । वजेट मार्फत तबै शिक्षकहरुको स्थायित्व र श्रेणीगत समान तलव भत्ताको सुनिश्चितता गरियोस ।
(कंडेल भीमोदय नमूना माध्यामिक विद्यालय कालिका–५ चितवनका प्रधानाध्यापक हुन् ।)