कास्की/८ जेठ-हिजो पञ्चायतकालमा राजनैतिक दलहरु प्रतिबन्धित थिए । नेताहरु कि जेल, कि निर्बासन मा हुन्थे । जनताको माझ आफ्ना कुराहरु लिएर जान सक्ने कुनै अवस्था नै हुने थिएन । त्यसैले सबै दलहरुले राजनैतिक चेतना जगाउने माध्यम “शिक्षक“ हुने गर्थे ।
किन भने शिक्षकहरु सबै विद्यार्थीसँग र विद्यार्थीहरु सबै घर सँग जोडिने हुनाले प्रत्येकको घर घर सम्म कुरा पु¥याउन सहज माध्यम नै शिक्षकहरु हुने गर्थे । हिजो यिनै राजनैतिक दलहरु हुन शिक्षकलाई जबर्जस्ती राजनितिमा धकेलिदिने । आफ्ना कुरा भन्न र पर्चा पम्प्लेट बाड्न लगाउने । आफ्नो जागिर र ज्यान दाउमा राखेर शिक्षकहरु आन्दोलन र गोप्य प्रचार प्रसारमा होमिए ।
२०३६ सालको जनमत संग्रहमा भिडे । पञ्चायत बिरुद्धको २०४२ सालको सत्याग्रहमा गिरफ्तारी दिएर देश भरिका जेलहरु भरिदिए । २०४६ र २०६२ का आन्दोलनहरुमा शिक्षकहरु नै अग्रमोर्चामा आएर लडे ,लेखे प्रतिबाद गरे । यसैको गुण तिर्न खुशी भएर कृष्ण प्रसाद भट्टराईको सरकारले एकै पटक बिना प्रतिस्पर्धा बिना राजनैतिक आग्रह पूर्वाग्रह देश भरिका सबै अस्थायी शिक्षकहरुलाई स्थायी गरिदिए । हिजो त्यो ठिक भयो । तर आज देशमा भैरहेका विकृति, विसंगति, भ्रष्ट्रचार र कुशासनका बिरुद्ध आवाज उठाउँदा तिनै शिक्षकहरु माथि प्रश्न उठाईन्छ ।
के हिजो तिम्रो सपोर्टमा बोल्दा ठिक हुने,आज फेरि तिम्रा बेथिती बिरुद्ध बोल्दा लेख्दा गलत हुने हो ? आज त झन उल्टै जागिर खाईदिने धम्की दिन्छन । देशका सचेत नागरिक शिक्षकहरु हिजो बोले, आज बोलिरहेका छन र भोलि पनि बोली रहनेछन । “चाँहिदाको भाडो नचाँहिदाको खाँडो” जस्तै गरि “युज एण्ड थ्रो” को नीति स्विकार्य छैन ।
हिजो ओलिले घोषणा गरेका ११९९ सदस्यिय केन्द्रीय समितिमा १७ जना स्थायी शिक्षकहरु पनि समाबेश गरिएका थिए भन्ने समाचार पढ्न पाईए कै थियो । अनि त्यो ठिक हो त ? आफ्ना लागि बोले ठिक नत्र बेठिक ? कुनै पनि दल प्रती आस्था राख्ने शिक्षकहरु लाई बिचारको आधारमा राज्यले भेदभाव गर्न पाईंदैन, यो स्विकार्य पनि छैन । हामी शिक्षकहरु आस्थाका आधारमा फरक भए पनि हाम्रा समस्याहरु साझा हुन । सबै शिक्षकहरु एक हौ भन्ने हाम्रो नारा बनाईनु पर्दछ । जे आस्थाका भए पनि सबै शिक्षकहरुले आफ्ना बिचार निर्धक्क सँग राख्न पाउनु पर्छ।
तर कुरा के हो भने स्कुल बाहिर हुने राजनितिलाई बिद्याकी देबि पबित्र पुण्य थलो स्कुल र कक्षा कोठा भित्र छिराउन पाईदैन । एउटा शिक्षकले कुनै पनि कलिला बालबालिकाको मन मष्तिष्कलाई असर पार्ने गरि कुनै पनि राजनैतिक दल प्रति आकर्षित र घृणा सिर्जना हुने खालका कुनै पनि कुराहरु बोल्न त परै जाओस संकेत सम्म पनि गर्न पाईंदैन ।
विद्यार्थी भोलि ठुला हुन्छन, आँफै चिन्तन गर्छन र आफ्नो निर्णय आँफै लिन्छन । अनि मन लागेको दलमा आँफै लाग्छन त्यो उनीहरु कै स्वतन्त्रताको कुरा हो । कम्तिमा पनि एउटा असल शिक्षकले यति कुरामा भने ख्याल राख्नै पर्छ र यति नैतिकता भने ईमान्दारिताका साथ पालना गर्नै पर्दछ । यो एउटा असल शिक्षकको गुण पनि हो ।
तर ऐन नियम र कानुनको हवाला दिंदै तर्साएर चुङ्गुल भित्र जकडेर देशका शिक्षित ब्यक्तित्वहरुको मुख टाल्ने प्रयास नगरौ । कदापी स्विकार्य छैन । Please, We follow our minimum ethic about it , donot worry everyone, specially to all parents .
(पौडेल ब्रम्हरुपा मावि पोखरा–३२, राजा चौतारा कास्कीका साबिक उमावि शिक्षक हुन । )



