चितवन/ ८ जेठ- चितवनको राप्ती नगरपालिकाले कोरोना सहयोगार्थका लागि सामुदायिक विद्यालयका शिक्षकहरुबाट तलबको २० प्रतिशत रकम उठाउने निर्णय गरेको भन्दै नेपाल शिक्षक सङ्घ चितवनले आज प्रेस विज्ञप्ति जारी गरेको छ ।
नेपाल शिक्षक महासङ्घ केन्द्रिय समितिबाट ठोस निर्देशन नआउँदा सम्म स्थानिय पालिकाले यस्ता खालका निर्णय नगर्न विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
साथै यस विषयमा नीतिगतरुपमा ठोस निर्णय लिई स्पष्ट निर्देशन पठाउन नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई पनि आग्रह गरिएको छ ।
नगरपालिकाले भने त्यस्तो कुनै पनि निर्णय नगरिएको जानाएको छ । यदि कोहि शिक्षक तथा कर्मचारिलाई स्वइच्छाले सहयोग गर्न मन लाग्छ भने आफ्नो तलबको २० प्रतिशत सम्म सहयोग गर्न सकिने तर अनिवार्य नगरिएको राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले जानकारी दिनुभयो ।
बरालले भन्नु भयो “यो विषयमा अतिरञ्जित गरियो, कुनै पनि शिक्षक कर्मचारिको तलबबाट २० प्रतिशत रकम अनिवार्य उठाउने निर्णय भएको छैन । तर जानप्रतिनिधिको हकमा अनिवार्य र शिक्षक कर्मचारिको हकमा कसैलाई दिन मन लाग्यो भने स्वइच्छाले २० प्रतिशत सम्म दिन सकिने भनिएको हो ।”



