असार अघि नयाँ भर्ना र अनलाईन कक्षा सञ्चालन गर्न नपाईने

रुपन्देही/ ६ जेठ –तिलोत्तमा नगरपालिकाले वार्षिक मुल्याङकनका आधारमा वर्षिक परीक्षाको नतिजा प्रकाशन गर्न नगर क्षेत्र भित्रका सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कोभिड–१९ का कारण तत्काल भौतिक रुपमा परीक्षा सञ्चालन गर्न कठिन भएकोले वार्षिक मुल्याङकनका आधारमा नतिजा प्रकाशन गर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ ।

पहिलो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत तथा अर्धवार्षिकबाट ४० प्रतिशत,निरन्तर विद्यार्थीको मुल्यांकन गरी विद्यालयमा राखिएको विद्यालयको अभिलेखबाट २० प्रतिशत गरी वार्षिक नतिजा तयार पार्न सबै विद्यालयलाई निर्देशन दिएको छ । साथै कक्षा ८ को हकमा पनि लागु हुने जनाएको छ ।

तर कक्षा ८ का विद्यार्थीको मुल्यांकन गरी जेठ २५ गते भित्र नगरपालिकाको सफ्रटवेयरमा विवरण प्रविष्टी गरी सो को विवरण शिक्षा शाखामा पेश गर्न सबै विद्यालयलाई भनिएको छ । साथै नतिजा नगरपालिका आफैले प्रकाशन गर्ने छ ।

त्यसै गरी कक्षा ८ बाहेक १ देखि ९ सम्मका सबै कक्षाको नतिजा जेठ ३१ गते एकै दिन प्रकाशन गर्न र प्रकाशन पश्चात नयाँ शैक्षिक सत्र सञ्चालनका लागि तयारी गर्न भनिएको छ ।

शैक्षिक सत्र २०७७ को वार्षिक मुल्यङकनको नतिजा प्रकाशन सम्पन्न नँहुदै नयाँ शैक्षिक सत्रको भर्ना तथा अनलाईन कक्षा सञ्चालनका कुनै पनि कार्य नगर्न सम्पूर्ण विद्यालयलाई निर्देशन दिएको छ ।