पोखरा विश्वविद्यालयमा तिन जना डिन र परीक्षा नियन्त्रक नियुक्त


काठमाडौं /४ जेठ -पोखरा विश्वविद्यालयले तिन जना डिन र परीक्षा नियन्त्रक नियुक्त गरेको छ । कार्यकारी परिषद्को निर्णणय अनुसार जेठ ३ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

विश्वविद्यालयले ऐन २०५३ को दफा २७(२)को अधिकार प्रयोग गरी सोही ऐनको दफा २७(३) बमोजिम चार वर्षका लागि नियुक्त गरेको छ ।

नियुक्त हुनेमा स्कूल अफ इञ्जिनियरिङ् पोविका सह–प्राध्यापक राजेशकुमार ठगुराठीलाई विज्ञान तथा प्रविधि संकायको डीन, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोविका सह–प्राध्यापक डा. अमर नागिल स्वास्थ्य विज्ञान संकायको डीन र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग पोविका सह–प्राध्यापक डा. अजय थापा मानविकी तथा सामाजिकशास्त्र संकायको डीन हुनु भएको छ ।

साथै बैशाख १७ गते देखि रिक्त रहेको परीक्षा नियन्त्रक पदमा पनि स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोविका सह–प्राध्यापक डा. तुल्सीराम भण्डारीलाई नियुक्त गरेको छ । विश्वविद्यालयले ४ वर्षका लागि भण्डारीलाई नियुक्त गरेको हो ।