काठमाडौँ/१७ कार्तिक – नेपाल लगायत आठ देशका कलाकार सम्मिलित लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको छैटौँ संस्करण इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा आजदेखि सुरु भएको छ ।
महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, इजरायल, जापान, चेक रिपब्लिक, चाइनाका कलाकारको नाट्य प्रस्तुति हेर्न पाईने छ । यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन् । साथै बालबालिकासँग नाट्य कार्यशाला समेत हुनेछ ।
आजको उद्घाटनमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रिजेश खनाल, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उप प्रमुख अनिता लामा, कलाकार दयाहाङ राई, प्रज्ञा–प्रतिष्ठान नाट्य विभाग प्रमुख सरस्वती चौधरी, नाटककार, रङ्गकर्मी, कवि तथा सांस्कृतिक अभियन्ता अशेष मल्ल लगायतका अतिथिहरूको सहभागी रहेको थियो ।
अन्तर्राष्ट्रिय बालनाटक महोत्सव कार्तिक १६ गतेदेखि २० गते सम्म आयोजना हुनेछ । बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भईरहेको छ ।
आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने उदेश्यले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक अध्यक्ष कुमार कार्कीले बताए । विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्न सकन भनने उदेश्यले हरेक वर्ष अन्तर्राष्ट्रिय बालनाटक महोत्सव आयोजना गर्दै आएको बताए ।
प्रमुख अतिथि ब्रिजेश खनालले विद्यालयले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय बालनाटक महोत्सवले विद्यार्थीहरूलाई ज्ञानसँगै सिर्जनात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकासमा नाटकले विशेष योगदान पु¥याउने उल्लेख गर्दै पठनपाठनमा पनि सिर्जनात्मक कलाको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले आफ्नो पालिका भित्र १५१ विद्यालय रहेकोमा शिक्षामा देशकै उत्कृष्ट पालिका बन्न सफल रहेको बताउँदै सबै प्रदेशले विद्यालयको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले आफ्नो पालिका भित्र रहेको इम्पेरियल वर्ल्ड स्कुलले उत्कृष्ट शिक्षा दिएको बताउँदै पालिका सधैँ विद्यालयको साथमा रहेको प्रतिबद्धता व्यक्त गरे ।
कलाकार दयाहाङ राईले विद्यालयले अन्तर्राष्ट्रिय बालनाटक महोत्सव आयोजना गर्नु रङ्गकर्मीहरूका लागि खुसीको विषय भएको बताए । उनले यस्ता महोत्सवले विभिन्न देशका कला, संस्कृति र संस्कारबिच आपसी आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै फरक देशका मानिसहरूलाई एकअर्कोकाका जीवन अनुभव, सोच र भोगाइ साटासाट गर्ने साझा मञ्चका रूपमा काम गर्ने उल्लेख गरे । साथै, यस्ता महोत्सवले कला र नाटकमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध तथा सांस्कृतिक समझदारीलाई थप मजबुत बनाउने बताए ।



