गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बन, अर्को निर्णय नभएसम्म गतिविधिमा गर्न रोक

काठमाडौं/१३ कार्तिक – गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।


मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन–प्याब्सनको संगठन निलम्बन गरिएको जनाएको हो ।


जारी सार्वजनिक सूचना अनुसार एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक पालना नगरेको पाइएकोले संगठन निलम्बन गरिएको उल्लेख छ । त्यस्तै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको मन्त्रालयको ठहर छ ।


यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षहरूसँग छलफलसमेत गरेको थियो । उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ साल मंसिर १२ गते जारी गरेको निर्देशनअनुसारका कार्य गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ ।


निर्देशनको अवज्ञा गरेको भन्दै मन्त्रालयले कानुनी व्यवस्थाअनुसार संगठनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सार्वजनिक सूचनामार्फत निलम्बनको निर्णयपछि एन–प्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गर्ने गतिविधि गैरकानुनी हुने स्पष्ट पारेको छ । त्यस्ता गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।


मन्त्रालयको उक्त निर्णयसँगै देशभरका निजी तथा आवासीय विद्यालयसँग आबद्ध एन–प्याब्सनको संगठनात्मक गतिविधि अर्को निर्णय नभएसम्मका लागि रोकिएको छ ।