काठमाडौँ /१२ कार्तिक – नेपालको सङ्घीय शिक्षा प्रणालीमा स्थानीय पाठ्यक्रमको व्यवस्था स्थानीय ज्ञान, संस्कृति, भाषा, इतिहास, वातावरण, पेसा तथा समुदायका आकाङ्क्षालाई विद्यालय शिक्षामा समावेश गरी सिकाइलाई स्थानीय सन्दर्भसँग जोड्ने उद्देश्यले सुरु गरिएको हो। राष्ट्रिय पाठ्यक्रम प्रारूपले विद्यार्थी र उनीहरूको सामाजिक तथा सांस्कृतिक वातावरणबिचको सम्बन्ध बलियो बनाउँदै सान्दर्भिक र अर्थपूर्ण सिकाइ अनुभव प्रवर्धन गर्नुपर्नेमा जोड दिन्छ (CDC, 2019) । तथापि, विद्यालय तहमा यसको कार्यान्वयनमा उल्लेखनीय चुनौती देखिएका छन् ।
यस अध्ययनले व्याख्यावादी प्रतिमानमा आधारित गुणात्मक अनुसन्धानमार्फत ललितपुर जिल्लाका आधारभूत विद्यालयमा स्थानीय पाठ्यक्रमसम्बन्धी शिक्षकका धारणा र अभ्यास अध्ययन गरेको छ । शिक्षकका प्रतिबिम्ब र कथनबाट तथ्याङ्क सङ्कलन गरी विषयगत विश्लेषण गरिएको थियो । निष्कर्षअनुसार धेरै शिक्षकले स्थानीय अधिकारीहरूले स्थानीय पाठ्यक्रमको अवधारणा गलत बुझेको ठान्छन् । स्थानीय ज्ञान, मौलिक अभ्यास र सामुदायिक स्रोत समेट्नुको सट्टा पाठ्यक्रम नगरप्रमुख र वडाध्यक्षका जीवनी जस्ता प्रशासनिक तथा राजनीतिक विषयमा सीमित हुने गरेको छ । पाठ्यक्रम विकासमा स्थानीय विज्ञ र समुदायका सरोकारवालाको सहभागिता कम हुँदा यसको स्थानीय सान्दर्भिकता घटेको छ ।
शिक्षण सहयोग, सामग्री, पेसागत विकासका अवसर र स्पष्ट निर्देशिकाको अभावले प्रभावकारी अभ्यासमा बाधा पु¥याएका छन् । विद्यार्थी अर्को स्थानीय तहमा सर्दा स्थानीय सामग्री सान्दर्भिक नहुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। अध्ययनले नीतिगत उद्देश्य र व्यवहारबिच उल्लेखनीय अन्तर रहेको निष्कर्ष निकालेको छ। स्थानीय पाठ्यक्रमको सम्भावना साकार पार्न सहभागिता, शिक्षक सहयोग र स्थानीय स्रोत विकास सुदृढ गर्न आवश्यक छ (MoEST, 2019; UNESCO, 2022; Koirala, 2021)।
परिचय
नेपालमा सङ्घीयतामा रूपान्तरण भएपछि विद्यालय शिक्षाको शासन व्यवस्थामा पुनर्संरचना भएको छ र पाठ्यक्रम विकास तथा कार्यान्वयनमा स्थानीय सरकारको अधिकार बढेको छ। स्थानीय पाठ्यक्रमको उद्देश्य स्थानीय संस्कृति, भाषा, इतिहास, वातावरण, पेसा, मौलिक ज्ञान र समुदायका आकाङ्क्षाअनुसार सिकाइलाई सान्दर्भिक बनाउनु हो । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले नेपालको विविध सामाजिक तथा सांस्कृतिक परिवेशअनुसार शिक्षालाई अर्थपूर्ण र उत्तरदायी बनाउन तथा विद्यार्थीको स्थानीय समुदायसँगको सम्बन्ध बलियो बनाउन जोड दिन्छ (MoEST, 2019) । सिकाइ विद्यार्थीका जीवन्त अनुभव र स्थानीय यथार्थसँग जोडिँदा अझ प्रभावकारी हुन्छ (UNESCO, 2022)।
नीतिगत आधार बलियो भए पनि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा चुनौती छन् । शिक्षकको अपर्याप्त तयारी, शिक्षण स्रोतको कमी, कमजोर संस्थागत सहयोग र सरोकारवालाको सीमित सहभागिताले पाठ्यक्रम सुधारमा कठिनाइ ल्याउँछन् (Aryal, 2020; Poudel, 2021)। धेरै स्थानीय तहमा उद्देश्य पूर्ण रूपमा हासिल भएको छैन, जसले नीतिगत अपेक्षा र कक्षाकोठाको अभ्यासबिच अन्तर सिर्जना गरेको छ । पाठ्यक्रम नीतिलाई अर्थपूर्ण सिकाइमा रूपान्तरण गर्ने प्रमुख जिम्मेवारी शिक्षकको भएकाले उनीहरूको धारणा र अभ्यासले कार्यान्वयनको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्छ (Flluan, 2016) ।
अध्ययनको पृष्ठभूमि
नेपाल सङ्घीय शासन प्रणालीमा प्रवेश गरेसँगै विद्यालय शिक्षाको विकेन्द्रीकरण भएको छ र आधारभूत शिक्षामा स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपले स्थानीय ज्ञान, संस्कृति, भाषा, वातावरण र जीविकोपार्जनका अभ्यासलाई शिक्षणमा समेटेर सन्दर्भअनुकूल सिकाइमा जोड दिन्छ । यसको उद्देश्य सिकाइलाई समुदायका आवश्यकतासँग सान्दर्भिक र अर्थपूर्ण बनाउनु हो । यी उद्देश्यका बाबजुद विद्यालयहरूमा स्थानीय पाठ्यक्रमको कार्यान्वयन समान छैन ।
शिक्षकको सीमित तयारी, शिक्षण सामग्रीको अभाव र पाठ्यक्रम अनुकूलनका लागि पेसागत सहयोगको कमी प्रमुख चुनौती हुन् (MoEST, 2021; UNESCO, 2022)। शिक्षकको बुझाइ र तयारीले कार्यान्वयनमा ठूलो प्रभाव पार्छ। शिक्षकहरूलाई राष्ट्रिय पाठ्यक्रमका माग र स्थानीय रूपमा सान्दर्भिक सामग्रीबिच सन्तुलन कायम गर्न कठिन हुने अनुसन्धानले देखाएको छ (Gautam & Shrestha, 2023) । त्यसैले स्थानीय पाठ्यक्रम कार्यान्वयन सुधार गर्न शिक्षकका धारणा बुझ्नु आवश्यक छ ।
समस्याको कथन
स्थानीय पाठ्यक्रमको उद्देश्य शिक्षालाई सान्दर्भिक, व्यावहारिक र विद्यार्थीको स्थानीय परिवेशसँग जोड्नु भए पनि धेरै स्थानीय तहमा यसको कार्यान्वयन कमजोर र असमान छ । स्थानीय पाठ्यक्रमले सामुदायिक ज्ञान, संस्कृति, वातावरण र जीविकोपार्जनका अभ्यासलाई सिकाइमा समेट्नुपर्ने होस तर व्यवहारमा नीतिअनुसार कार्यान्वयन भएको पाइँदैन (CDC, 2019)। शिक्षकहरूले पर्याप्त मार्गदर्शन र सहयोगबिनाको थप विषयगत बोझका रूपमा यसलाई अनुभव गर्ने गरेका छन् (Mishra, 2023) ।
विषयवस्तु छनोट, पाठयोजना निर्माण र मूल्याङ्कन रणनीतिबारे शिक्षकहरूले अनिश्चितता व्यक्त गर्छन्। अपर्याप्त तालिम, शिक्षण सामग्रीको कमी र कमजोर संस्थागत सहयोगले यो अन्योल बढाउँछ (UNESCO, 2022)। फलस्वरूप, विद्यालयअनुसार कार्यान्वयन फरक हुन्छ र व्यक्तिगत शिक्षकको पहलमा निर्भर रहन्छ (Sunuwar, 2023)।
शिक्षकको बुझाइ, कक्षाकोठाका अभ्यास र स्थानीय पाठ्यक्रम कार्यान्वयनका चुनौतीमा केन्द्रित अनुसन्धान सीमित छ । यसले नीतिगत प्रतिपुष्टि र सुधार रणनीति निर्माणमा रिक्तता सिर्जना गरेको छ । त्यसैले यस अध्ययनले शिक्षकका धारणा र अनुभवको खोजी गर्छ (Adhikari, 2024) ।
अध्ययनको उद्देश्य
प्रस्तुत अध्ययन मुख्यतया निम्न प्रश्नहरूसँग सम्बन्धित भएर अगाडी बढाइएको थियो जसमा स्थानीय पाठ्यक्रमको सान्दर्भिकता, उपयोगिता र उद्देश्यबारे शिक्षकको धारणा कस्तो छ भन्ने प्रश्नबाट निर्देशित भएर विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रमको सान्दर्भिकता, उपयोगिता र उद्देश्यबारे शिक्षकका धारणा अध्ययन गर्न खोजिएको हो भने स्थानीय पाठ्यक्रमको कार्यान्वयन गर्दा शिक्षकले कक्षाकोठामा कस्ता अभ्यास अपनाउँछन् भन्ने अनुसन्धान प्रश्न स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्दा शिक्षकले अपनाउने कक्षाकोठाका अभ्यासहरू खोजी गर्न केन्द्रित रहेको छ । साथै स्थानीय पाठ्यक्रम कार्यान्वयनमा कुन-कुन कारकले सहयोग गर्छन् वा बाधा पु¥याउँछन् भन्ने प्रश्न स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने वा बाधा पु¥याउने कारक पहिचान गर्ने प्रयोजनार्थ रहेको हो ।
अध्ययनको सीमा
प्रस्तुत अध्ययनले नेपालको सन्दर्भमा स्थानीय पाठ्यक्रमको अवधारणा र कार्यान्वयनको खोजी गर्दै शिक्षकका कथन र प्रतिबिम्बमार्फत वास्तविक अभ्यास बुझ्न प्रयास गरेको छ । अध्ययन ललितपुर जिल्लाका आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम कार्यान्वयनसम्बन्धी प्रमुख नीतिगत व्यवस्था र अभ्यासलाई उजागर गर्नमा सीमित गरेको छ ।
साहित्य समीक्षा
नेपालमा सङ्घीय शासन प्रणालीअन्तर्गत शैक्षिक विकेन्द्रीकरणको हिस्साका रूपमा स्थानीय पाठ्यक्रम विकसित भएको हो । राष्ट्रिय पाठ्यक्रम प्रारूप र पाठ्यक्रम विकास केन्द्रले स्थानीय संस्कृति, भाषा, वातावरण, पेसा र मौलिक ज्ञान प्रणाली प्रतिविम्बित गर्ने सन्दर्भअनुकूल सिकाइको महत्त्वमा जोड दिएका छन्। यसको उद्देश्य विद्यार्थीको सामाजिक यथार्थसँग शिक्षालाई अर्थपूर्ण र सान्दर्भिक बनाउनु हो ।
नेपालको भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक विविधताका कारण स्थानीय पाठ्यक्रम महत्त्वपूर्ण छ। एउटै राष्ट्रिय पाठ्यक्रमले यो विविधतालाई पूर्ण रूपमा सम्बोधन गर्न सक्दैन । स्थानीय पाठ्यक्रमले स्थानीय तह र विद्यालयलाई स्थानीय इतिहास, वातावरणीय समस्या, कृषि अभ्यास, परम्परागत ज्ञान र सामुदायिक जीविकोपार्जन जस्ता विषय समावेश गर्ने लचकता दिन्छ ।
यो दृष्टिकोण विद्यार्थीका जीवन्त अनुभवसँग सिकाइ जोड्ने विश्वव्यापी प्रवृत्तिसँग मेल खान्छ । UNESCO, 2022) का अनुसार स्थानीय पाठ्यक्रमले सिकाइलाई परिचित र व्यावहारिक बनाएर सहभागिता, समावेशिता र सांस्कृतिक पहिचान बलियो बनाउँछ । तर स्थानीय विषयवस्तु कसरी बनाउने, अन्य विषयसँग कसरी एकीकृत गर्ने र उपलब्धि कसरी मूल्याङ्कन गर्ने भन्ने स्पष्ट निर्देशिका शिक्षकसँग प्रायः हुँदैन ।
अध्ययनहरूले शिक्षकहरूले स्थानीय पाठ्यक्रमलाई एकीकृत सिकाइभन्दा थप विषयका रूपमा बुझ्ने गरेको देखाएका छन् (Mishra, 2023) । यसले कार्यभार बढाउँछ र प्रेरणा घटाउँछ । (Rijal, 2021) का अनुसार स्थानीय वातावरण र अनुभवसँग जोडिएका सामग्रीले विद्यार्थीको रुचि र सहभागिता बढाउन सक्छन्, तर शिक्षकको तयारी र स्रोतको कमीले कार्यान्वयनमा असङ्गति ल्याउँछ ।
Sunuwar (2023) ले विद्यालय र जिल्लाबिच कार्यान्वयनमा भिन्नता रहेको बताएका छन् । केही विद्यालयले समुदायमा आधारित सिकाइ गराउँछन् भने अरूले पाठ्यपुस्तकमा बढी निर्भर शिक्षण गर्छन्। यसले संस्थागत सहयोगभन्दा व्यक्तिगत पहलमा निर्भरता देखाउँछ ।
पाठ्यक्रम एकीकरण र सन्दर्भअनुकूल शिक्षणबारे पर्याप्त पेसागत विकास नहुँदा नीतिलाई कक्षाकोठामा रूपान्तरण गर्न कठिन हुन्छ (Herro et al., 2017; Ye & Xu, 2023)। स्थानीय शिक्षण सामग्रीको अभावले शिक्षक राष्ट्रिय पाठ्यपुस्तकमा निर्भर हुन्छन् ।
स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयनमा संस्थागत सहयोग पनि सीमित छ । स्थानीय सरकारसँग विद्यालयलाई सहयोग गर्न आवश्यक प्राविधिक विशेषज्ञता र समन्वय संयन्त्रको अभाव हुन सक्छ । कमजोर शासन संरचना र अपर्याप्त अनुगमनले शैक्षिक सुधारको कार्यान्वयन असँगत बनाउँछन् (UNESCO, 2022)।
परम्परागत परीक्षाले सीप र दक्षताभन्दा कण्ठस्थ गर्ने कुरामा जोड दिन्छ । यसले नवीन शिक्षणलाई निरुत्साहित गर्छ । एकीकृत सिकाइ उपलब्धि मूल्याङ्कन गर्न लचिलो र निरन्तर विधि आवश्यक हुन्छ (Burke & Lehane, 2023) ।
यी चुनौतीका बाबजुद स्थानीय पाठ्यक्रमले शिक्षाको गुणस्तर सुधार गर्ने अवसर दिन्छ। मौलिक ज्ञान र स्थानीय परम्परा समावेश गर्दा सांस्कृतिक संरक्षण तथा विद्यार्थीको पहिचान र अपनत्व बलियो हुन्छ । स्थानीय पाठ्यक्रमले अवलोकन, अन्तरक्रिया र वास्तविक गतिविधिमा सहभागितामार्फत अनुभवात्मक सिकाइलाई सहयोग गर्छ । यसले आलोचनात्मक सोच र समस्या समाधान सीप विकास गर्छ (Drake & Reid, 2018; Paleczek et al., 2023)। बहुभाषिक र बहुसांस्कृतिक नेपालमा यसले समावेशी र पहुँचयोग्य शिक्षा प्रवद्र्धन गर्न सक्छ ।
नेपालमा स्थानीय पाठ्यक्रम कार्यान्वयनसम्बन्धी शिक्षकका अनुभवमा केन्द्रित अनुसन्धान सीमित छ । विद्यमान अध्ययनले नीतिगत प्रारूप वा सामान्य चुनौतीमा बढी ध्यान दिएका छन् । कक्षाकोठाका अभ्यास र शिक्षकका धारणा कम अध्ययन भएका छन् । शिक्षक पाठ्यक्रम नीतिलाई व्यवहारमा रूपान्तरण गर्ने प्रमुख व्यक्ति भएकाले उनीहरूको दृष्टिकोण बुझ्नु महत्त्वपूर्ण छ ।
अध्ययनले स्थानीय पाठ्यक्रमलाई पाठ्यक्रम एकीकरण र सन्दर्भअनुकूल सिकाइको विश्वव्यापी प्रवृत्तिसँग जोड्छ । यसको उद्देश्य शिक्षालाई स्थानीय आवश्यकताअनुसार सान्दर्भिक र अर्थपूर्ण बनाउनु हो । तर अपर्याप्त तालिम, सीमित स्रोत, कमजोर संस्थागत सहयोग र मूल्याङ्कनसम्बन्धी अवरोधले कार्यान्वयन चुनौतीपूर्ण बनाउँछन् । नीति र अभ्यासबिचको अन्तर सम्बोधन गर्न शिक्षकका अनुभव बुझ्न आवश्यक छ ।
अध्ययन विधि
प्रस्तुत गुणात्मक अध्ययनले स्थानीय पाठ्यक्रमको अवधारणा र कार्यान्वयनलाई नीतिगत अपेक्षासँग तुलना गर्दछ । प्रस्तुत अध्ययनमा शिक्षकका अनुभूति र प्रतिबिम्बबाट पाठ्यक्रम सिद्धान्त, नीतिको प्रयोग, शिक्षण सिकाइ अभ्यास र मूल्याङ्कन प्रक्रियासँग सम्बन्धित विषयगत विश्लेषण गरिएको छ । यसले स्थानीय पाठ्यक्रमप्रति शिक्षकका अभ्यास र दृष्टिकोणलाई गहिराइमा अध्ययन गर्न प्रयास गरेको छ । प्रस्तुत आख्यानात्मक अनुसन्धानले शिक्षकका अनुभवमा आधारित कथा सङ्कलन गरी अर्थपूर्ण विश्लेषण गर्दछ जसका लागि अन्तर्वार्ता, व्यक्तिगत दस्ताबेज र जीवनकथाबाट तथ्याङ्क सङ्कलन गरी उनीहरूका अनुभवलाई संरचना, सन्दर्भ र विषयवस्तु विश्लेषणमा जोड्ने प्रयास गर्छ । यसले जीवन्त अनुभव र सांस्कृतिक सन्दर्भबारे गहिरो अन्तर्दृष्टि दिन्छ ।
गुणात्मक अनुसन्धानले समस्यालाई आफ्नै परिवेशमा गहिराइमा बुझ्ने भएकाले सानो नमुना उपयोगी हुने भएकोले यस अध्ययनमा ललितपुर जिल्लाका चार स्थानीय तहका सामुदायिक विद्यालयमा आधारभूत तहमा कार्यरत चार शिक्षकहरू नमुनाको रूपमा सहभागी थिए। तीमध्ये दुई गाउँपालिका र दुई नगरपालिका क्षेत्रका थिए ।
तथ्याङ्क सङ्कलनका लागि सहभागीहरूसँग छुट्टाछुट्टै गहन अर्ध-संरचित अन्तर्वार्ता लिइयो । यसले अनुभव, बुझाइ, प्रेरणा, व्यवहार तथा दैनिक चुनौती बुझ्न मद्दत ग¥यो (Fleming & Zegwaard, 2018)। अन्तर्वार्ता रेकर्ड गरी प्रतिलिपि तयार पारियो । प्रतिलिपि, अवलोकन तथ्याङ्क र टिपोटको विश्लेषण गरी अर्थका प्रमुख ढाँचा पहिचान र वर्गीकरण गरिएको थियो ।
शिक्षकका प्रतिबिम्ब
शिक्षकका प्रतिबिम्बले स्थानीय पाठ्यक्रमको अभिप्रेत उद्देश्य र कक्षाकोठाको वास्तविक अभ्यासबिच अन्तर रहेको देखाउँछन् । शिक्षकहरूले स्थानीय पाठ्यक्रममा स्थानीय भूगोल, कला, संस्कृति, पेसा, व्यवसाय, वातावरण र सम्पदाबारे सिकाइ अपेक्षा गरेकोमा विद्यमान सामग्री राजनीतिक व्यक्तित्वको गुनगान गाउनमा बढी केन्द्रित रहेको बताए । शिक्षक र स्थानीय विज्ञलाई पाठ्यक्रम विकास प्रक्रियामा विरलै सहभागी गराइने हुँदा सामुदायिक ज्ञान र विद्यार्थीका जीवन्त अनुभवसँग पाठ्यक्रम जोड्न कठिन भएको छ ।
स्थानीय पाठ्यक्रम विद्यार्थीका लागि थप बोझ बनेको शिक्षकहरूको अनुभव छ । शिक्षण सामग्री र पेसागत तालिमको अभावले प्रभावकारी शिक्षण कठिन भएको छ। एउटा स्थानीय तहका विद्यार्थी अर्को स्थानीय तहमा गएर अध्ययन गर्दा वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा अध्ययनका लागि सर्दा स्थानीय सामग्री सान्दर्भिक नहुन सक्छ । स्थानीय परम्परा, मौलिक ज्ञान, पर्यटन, कृषि, जैविक विविधता र सामुदायिक इतिहास समेटिए पाठ्यक्रम अझ अर्थपूर्ण हुने शिक्षकहरूको विश्वास छ ।
स्थानीय पाठ्यक्रमको अवधारणाबारे गलत बुझाइ
शिक्षकका अनुसार स्थानीय अधिकारीहरूले स्थानीय पाठ्यक्रमको अवधारणा गलत बुझेका छन् । सन्दर्भअनुकूल सिकाइको दृष्टिकोणका रूपमा लिनुको सट्टा यसलाई प्रशासनिक वा राजनीतिक अभ्यासका रूपमा कार्यान्वयन गरिन्छ । स्थानीय ज्ञान समेट्नुको सट्टा राजनीतिक नेताका जीवनीमा बढी जोड दिइन्छ । यो निष्कर्ष सन्दर्भअनुकूल पाठ्यक्रम विद्यार्थीका जीवन्त अनुभव र सामुदायिक ज्ञानमा आधारित हुनुपर्ने साहित्यसँग मेल खान्छ (Beane, 1997; CDC, 2019) . Beane (2005) ले पाठ्यक्रम एकीकरणमा लोकतान्त्रिक सहभागिता र वास्तविक जीवनका मुद्दामा जोड दिएका छन् । यस अध्ययनले भने शैक्षिक उद्देश्यभन्दा प्रशासनिक प्राथमिकता हाबी भएको देखाउँछ ।
UNESCO (2022) ले स्थानीय क्षमता र सहभागिता कमजोर हुँदा विकेन्द्रीकृत पाठ्यक्रम विकासमा राजनीतिक प्रभाव बढ्ने जोखिम औँल्याएको छ । राजनीतिक सामग्रीको प्रभुत्व स्थानीय संस्कृति, वातावरण, पेसा र सामुदायिक ज्ञान समावेश गर्ने राष्ट्रिय पाठ्यक्रम प्रारूपसँग मेल खाँदैन (MoEST, 2019) । यसरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्ने अधिकारीहरूमा स्थानीय पाठ्यक्रमको अवधारणात्मक बुझाइ सीमित रहेको र त्यसले यसको उद्देश्य विकृत बनाएको निष्कर्ष निस्कन्छ ।
सहभागितामूलक पाठ्यक्रम विकासको अभाव
स्थानीय पाठ्यक्रमको आधारभूत मान्यता स्थानीय आवश्यकता, स्थानीय विषयवस्तु र स्थानीय विज्ञताको संलग्नतालाई बिर्सेर पाठ्यक्रम विकासमा स्थानीय विज्ञ, सांस्कृतिक अभ्यासकर्ता, किसान, इतिहासकार र समुदायका सदस्यको सहभागिता न्यून रहेको यस अध्ययनको प्रमुख निष्कर्ष हो । प्रशासनिक निकायले सरोकारवालाको अर्थपूर्ण सहभागिताबिना सामग्री तयार गर्दा स्थानीय ज्ञानको प्रतिनिधित्व कमजोर हुन्छ । यो निष्कर्ष सहभागितामूलक पाठ्यक्रम निर्माणका सिद्धान्तसँग बाझिन्छ । Beane (1997) का अनुसार पाठ्यक्रम एकीकरण विद्यार्थी र समुदायका यथार्थबाट विकसित हुनुपर्छ । Drake र Reid (2018) का अनुसार अन्तरविषयक सिकाइमा विविध सामुदायिक स्रोतको ज्ञान समेटिनुपर्छ ।
पाठ्यक्रम विकास केन्द्र (CDC, 2019) ले स्थानीय पाठ्यक्रममा मौलिक ज्ञान प्रणाली र सामुदायिक अभ्यास प्रतिविम्बित हुनुपर्ने उल्लेख गरेको छ । तर व्यवहारमा सहभागिताको यो दृष्टिकोण पूर्ण रूपमा कार्यान्वयन नभएको र पाठ्यक्रम विकास प्रशासनिक प्रक्रियामा सीमित भएको देखिन्छ । UNESCO (2022) ले समुदायको सहभागिताबिना स्थानीय पाठ्यक्रम प्रतीकात्मक बन्न सक्ने चेतावनी दिएको छ। सरोकारवालाको सहभागिता नहुँदा पाठ्यक्रमको प्रामाणिकता र विद्यार्थीको सामाजिक(सांस्कृतिक वातावरणसँगको सान्दर्भिकता कमजोर हुन्छ ।
शिक्षणको बोझ र शिक्षकको तयारी
शिक्षकहरूले स्थानीय पाठ्यक्रमलाई अर्थपूर्ण शिक्षण अवसरभन्दा थप कार्यभारका रूपमा अनुभव गर्छन् । अभिमुखीकरण र तालिम सीमित तथा शिक्षण सामग्री अपर्याप्त हुँदा शिक्षकहरू अनुभवात्मक वा खोजमा आधारित विधिभन्दा व्याख्यान र पाठ्यपुस्तक पढाइमा निर्भर हुन्छन् । शिक्षक पाठ्यक्रम कार्यान्वयनका केन्द्रमा भए पनि सुधार प्रक्रियामा पर्याप्त सहयोग नपाउने अनुसन्धानले देखाउँछ (Breathnach, 2022) । शिक्षकले सिकाइ सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ (Drake & Reid, 2018), तर तालिम र स्रोतको अभावले नवीन अभ्यासमा बाधा पु¥याउँछ (Herro et al., 2017) । शिक्षकको तयारी र प्रणालीगत अवरोधका कारण सुधार कक्षाकोठा तहमा असफल हुन सक्छ (Meng, 2022) ।
राष्ट्रिय पाठ्यक्रम प्रारूपले अनुभवात्मक र सन्दर्भअनुकूल सिकाइ प्रवर्धन गर्न प्रयत्न गरे पनि शिक्षकहरू त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तयार नभएकोले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा पनि सक्रिय सिकाइ प्रक्रिया अवलम्बन नभई सिकाइ सैद्धान्तिक आवश्यकता मात्र बन्न पुगेको छ ।
विद्यार्थीको स्थानान्तरण र पाठ्यक्रमको खण्डीकरण
स्थानीय तहहरूबिच विद्यार्थी स्थानान्तरण स्थानीय पाठ्यक्रमको प्रभावकारीताको अर्को चुनौती हो । स्थानीय पाठ्यक्रमका विषयवस्तु फरक हुँदा एक स्थानीय तहबाट अर्कोमा जाने विद्यार्थीलाई कठिनाइ हुने गरेको छ । उदाहरणका लागि, ललितपुर महानगरपालिकामा नेपाल भाषा समावेश गर्नु स्थानीय रूपमा महत्त्वपूर्ण भए पनि कोन्ज्योसोमबाट सो स्थानीय तहमा सर्ने तामाङ मातृभाषी विद्यार्थीका लागि त्यति सान्दर्भिक नहुन सक्छ ।
अत्यधिक स्थानीयकरणले सिकाइ अनुभव खण्डित बनाउन सक्छ । UNESCO (2022) ले स्थानीय सान्दर्भिकता र राष्ट्रिय एकरूपताबिच सन्तुलन कायम गर्नुपर्ने बताएको छ । Beane (1997) का अनुसार स्थानीय अनुकूलनको लचकतासँगै साझा आधारभूत बुझाइ कायम राख्नुपर्छ । Burke & Lehane (2023) का अनुसार पाठ्यक्रम खण्डीकरणले सीप विकास र मूल्याङ्कनमा असङ्गति ल्याउन सक्छ। त्यसैले स्थानीय सान्दर्भिकता र राष्ट्रिय एकरूपता दुवै सुनिश्चित गर्ने समन्वित प्रारूप आवश्यक छ ।
मूल्याङ्कनका चुनौती र सिकाइ उपलब्धिबारे अस्पष्टता
स्थानीय पाठ्यक्रमको मूल्याङ्कन अस्पष्ट र असमान रूपमा कार्यान्वयन भएको अध्ययनले देखाएको छ । सिकाइ उपलब्धि र व्यवस्थित निर्देशिका स्पष्ट नहुँदा कक्षाकोठाका अभ्यास फरक हुन्छन् । एकीकृत पाठ्यक्रमको मूल्याङ्कन जटिल हुन्छ (Burke & Lehane, 2023) , र परम्परागत परीक्षा अन्तरविषयक तथा सीपमा आधारित सिकाइ मापन गर्न उपयुक्त हुँदैन (Drake & Reid, 2018) ।
नेपालमा मूल्याङ्कन प्रणाली परीक्षामुखी छ र सक्षमता परीक्षण वा अनुभवात्मक सिकाइभन्दा कण्ठस्थ गर्ने कुरामा जोड दिन्छ (MoEST, 2019) । अस्पष्ट मूल्याङ्कन रणनीतिले नवीन शिक्षणलाई निरुत्साहित गर्छ (Herro et al., 2017)। उपलब्धि स्पष्ट नहुँदा शिक्षकले सीप विकासभन्दा विषयवस्तु सक्न प्राथमिकता दिन्छन्। स्थानीय पाठ्यक्रममा पनि मूल्याङ्कन सम्बन्धी अस्पष्टता वा राष्ट्रिय पाठ्यक्रम जस्तै हुनुले शिक्षण सिकाइ प्रक्रियामा नविनता ल्याउन सकिएको छैन ।
नीतिगत उद्देश्य र कक्षाकोठाको यथार्थबिचको खाडल
स्थानीय पाठ्यक्रम कार्यान्वयनमा नीति र अभ्यासबिच प्रष्ट देखिने खाडल रहेको छ । नीतिले सन्दर्भअनुकूल, सहभागितामूलक र विद्यार्थीकेन्द्रित शिक्षामा जोड दिए पनि कक्षाकोठामा प्रशासनिक नियन्त्रण, सीमित शिक्षक क्षमता र कमजोर संस्थागत सहयोग देखिन्छ। राष्ट्रिय पाठ्यक्रम प्रारूपले स्थानीय संस्कृति, वातावरण र अनुभवात्मक सिकाइ एकीकृत गर्ने परिकल्पना गर्छ । तर कमजोर शैक्षिक प्रशासन र स्थानीय तहको सक्षमता कम हुँदा पाठ्यक्रमको कार्यान्वयन लक्ष्यबाट विचलित भएको यस अध्ययनले देखाएको छ ।
स्थानीय अधिकारीसँग प्राविधिक विशेषज्ञता र शिक्षाशास्त्रीय बुझाइ पर्याप्त नहुँदा विकेन्द्रीकरणका सुधार कार्यान्वयन गर्न कठिन हुन्छ (UNESCO, 2022)। पाठ्यक्रम विकास प्रशासनिक प्राथमिकताबाट प्रभावित भएको र शिक्षकको तालिम तथा स्रोतको अभावले गुणस्तरमा असर पारेको सहभागीहरूले बताए । त्यसैले नेपालमा स्थानीय पाठ्यक्रमको कक्षाकोठामा सीमित प्रभाव रहेको र हाल रूपान्तरणकारी भन्दा प्रतीकात्मक स्वरूप बढी रहेको अध्ययनले देखाउँछ ।
नेपालमा पाठ्यक्रम सुधारको खाँचो
स्थानीय पाठ्यक्रम सुधार गर्न समुदाय, स्थानीय विज्ञ र शिक्षकलाई समावेश गरी सहभागितामूलक विकास सुदृढ गर्नुपर्छ (Beane, 1997; CDC, 2019) । सन्दर्भ अनुकूल र एकीकृत सिकाइबारे शिक्षकको पेसागत विकासलाई प्राथमिकता दिनुपर्छ (Drake & Reid, 2018; Herro et al., 2017) । स्थानीय सान्दर्भिकता र एकरूपता सुनिश्चित गर्ने लचिलो मूल्याङ्कन प्रारूप पनि आवश्यक छ (Burke & Lehane, 2023)।
विकेन्द्रीकरणले पाठ्यक्रमलाई खण्डित बनाउनुको सट्टा सुसङ्गत सिकाइ अनुभव प्रवर्धन गर्न राष्ट्रिय तथा स्थानीय शिक्षा अधिकारीबिच समन्वय बलियो बनाउनुपर्छ (UNESCO, 2022) । अवधारणागत गलत बुझाइ, सीमित सहभागिता, शिक्षक क्षमताका समस्या र मूल्याङ्कनका चुनौतीले कार्यान्वयन सीमित बनाएका छन्। प्रणालीगत सुधार, क्षमता विकास र सुशासन आवश्यक छ ।
निष्कर्ष
शिक्षकहरू स्थानीय पाठ्यक्रमको विचारप्रति सामान्यतः सकारात्मक छन् र शिक्षालाई सान्दर्भिक, सन्दर्भ अनुकूल र अर्थपूर्ण बनाउने यसको मूल सिद्धान्तलाई समर्थन गर्छन् । तर अवधारणा, विकास र कार्यान्वयनबारे उल्लेखनीय चिन्ता छन् । शिक्षकहरूले यसको नीतिगत उद्देश्य र कक्षाकोठाको यथार्थबिच असङ्गति देखेका छन् ।
धेरै स्थानीय तहमा कार्यान्वयन सन्दर्भ अनुकूल शिक्षाको उद्देश्यबाट विचलित भएको छ । स्थानीय संस्कृति, मौलिक ज्ञान, वातावरण, पेसा र समुदायमा आधारित सिकाइभन्दा प्रशासनिक वा राजनीतिक पक्ष हाबी हुँदा पाठ्यक्रमको शैक्षिक मूल्य र विद्यार्थीका अनुभवसँगको सम्बन्ध कमजोर हुन्छ (CDC, 2019; UNESCO, 2022)। शिक्षक र स्थानीय ज्ञानधारकको सहभागिता तथा तालिम, स्रोत र स्पष्ट मार्गदर्शनको कमीले पनि समस्या बढाएको छ ।
स्थानीय पाठ्यक्रमलाई एकीकृत सिकाइ अवसरभन्दा थप बोझका रूपमा बुझिन्छ । स्थानीय तहहरूबिचको असङ्गति र विद्यार्थी स्थानान्तरणले सिकाइ अनुभव खण्डित बनाउँछ । अवधारणागत गलत बुझाइ, सीमित क्षमता, अपर्याप्त स्रोत र पाठ्यक्रम डिजाइन तथा कक्षाकोठाको अभ्यासबिच कमजोर तालमेलले कार्यान्वयन कमजोर भएको छ (MoEST, 2019; Meng, 2022)।
सम्भावनाहरु
पाठ्यक्रम विकेन्द्रीकरण मात्रले अर्थपूर्ण सिकाइ सुनिश्चित गर्दैन । धेरै स्थानीय सरकारसँग प्रभावकारी पाठ्यक्रम विकासका लागि प्राविधिक विशेषज्ञता र शिक्षाशास्त्रीय बुझाइ अपर्याप्त छ, त्यसैले क्षमता विकास आवश्यक छ (UNESCO, 2022)। शिक्षकलाई विकास प्रक्रियाबाट बाहिर राख्दा अपनत्व र कक्षाकोठामा प्रयोग कमजोर हुन्छ । अर्थपूर्ण पाठ्यक्रम एकीकरणमा शिक्षक र समुदायको सहभागिता आवश्यक छ (Beane, 1997)।
स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सन्दर्भ अनुकूल र एकीकृत शिक्षणमा केन्द्रित पेसागत विकास कार्यक्रम आवश्यक छ। स्थानीय सान्दर्भिकता र राष्ट्रिय अन्तराष्ट्रिय आवश्यकताबिच सन्तुलन कायम गर्नुपर्छ । स्थानीय तहहरूबिचको पाठ्यक्रममा समाविष्ट विषयवस्तुहरूको अत्यधिक भिन्नताले विद्यार्थीको सिकाइ उपलब्धिमा असङ्गति ल्याउन सक्छ त्यसैले स्थानीय अनुकूलनको लचकतासँगै मुख्य दक्षतामा राष्ट्रिय एकरूपता सुनिश्चित गर्नुपर्छ (Burke & Lehane, 2023)।
मूल्याङ्कन प्रणाली स्थानीय पाठ्यक्रमका लक्ष्यसँग मेल खाने गरी पुनरावलोकन गर्नुपर्छ । परीक्षामुखी अभ्यासले स्थानीय ज्ञान, सीप र मूल्यसम्बन्धी बुझाइ पर्याप्त रूपमा मापन गर्दैन (MoEST, 2019) । त्यसैले स्थानीय पाठ्यक्रमको प्रभावकारिता बढाउन निम्न सम्भावनाहरू देखिएका छन् ।
सहभागितामूलक पाठ्यक्रम विकास सुदृढ गर्ने
स्थानीय पाठ्यक्रम विकासमा शिक्षक, विषयविज्ञ, स्थानीय इतिहासकार, सांस्कृतिक अभ्यासकर्ता, किसान र सामुदायिक प्रतिनिधिलाई सक्रिय सहभागी गराउनुपर्छ । यसले स्थानीय ज्ञान, परम्परा र सामाजिक(आर्थिक यथार्थ प्रतिविम्बित गर्छ (Beane, 1997)।
शिक्षकको पेसागत विकास अभिवृद्धि गर्ने
सरोकारवाला निकायहरू र स्थानीय सरकारले स्थानीय पाठ्यक्रम, सन्दर्भ अनुकूल सिकाइ र एकीकृत शिक्षणबारे शिक्षकको बुझाइ बलियो बनाउन लक्षित तालिम सञ्चालन गर्नुपर्छ । पाठयोजना, कक्षाकोठा शिक्षण र मूल्याङ्कनका व्यावहारिक रणनीतिका लागि निरन्तर कार्यशाला आवश्यक छन् (Drake & Reid, 2018) ।
शिक्षण स्रोत विकास गर्ने
पाठ्यपुस्तक, घटना(अध्ययन, मल्टिमिडिया स्रोत र समुदायमा आधारित सिकाइ मार्गदर्शिकासहित स्थानीय शिक्षण सामग्री विकास गर्न आवश्यक छ । यसले शिक्षकको बोझ घटाएर कार्यान्वयनलाई प्रभावकारी बनाउँछ (UNESCO, 2022) ।
नीति र कार्यान्वयनबिच तालमेल सुधार गर्ने
स्थानीय पाठ्यक्रमका लक्ष्य र कक्षाकोठाको अभ्यासबिच तालमेल सुनिश्चित गर्न स्थानीय पाठ्यक्रम प्रारूप विकास गरी कम्तीमा केन्द्रले एउटा न्यूनतम मापदण्ड निर्माण गर्नुपर्छ । सिकाइ उपलब्धि, शिक्षण रणनीति र मूल्याङ्कन विधिबारे स्पष्ट निर्देशिका विकास र कार्यान्वयन गर्नुपर्छ (MoEST, 2019) ।
स्थानीय र राष्ट्रिय पाठ्यक्रमका आवश्यकता सन्तुलन गर्ने
स्थानीय पाठ्यक्रमले राष्ट्रिय सिकाइ मापदण्डलाई पूरक बनाउनुपर्छ । स्थानीय अनुकूलनको लचकतासँगै न्यूनतम राष्ट्रिय प्रारूप कायम राख्दा विद्यार्थी स्थानान्तरण र सिकाइ निरन्तरताका समस्या सम्बोधन गर्न सकिन्छ (Burke & Lehane, 2023)।
मूल्याङ्कन अभ्यासमा सुधार गर्ने
मूल्याङ्कन प्रणालीले कण्ठस्थ गर्ने कुराभन्दा दक्षता, सीप र सन्दर्भगत बुझाइ मापन गर्नुपर्छ । निर्माणात्मक, परियोजनामा आधारित र कार्यसम्पादनमा आधारित मूल्याङ्कनलाई प्रोत्साहन गर्नुपर्छ (Meng, 2022) ।
अनुगमन र सहयोग प्रणाली सुदृढ गर्ने
स्थानीय शिक्षा अधिकारीहरूले गुणस्तरीय कार्यान्वयनका लागि अनुगमन र सहयोग संयन्त्र स्थापना गर्नुपर्छ । नियमित सुपरिवेक्षण, परिपुष्टि र सहकार्यमा आधारित समीक्षाले जवाफदेहीता र एकरूपता सुधार गर्छ UNESCO, 2022) ।
स्थानीय पाठ्यक्रमले शिक्षालाई अर्थपूर्ण, सांस्कृतिक रूपमा सान्दर्भिक र विद्यार्थीकेन्द्रित बनाउने सम्भावना राख्छ । यसको सफलता कार्यान्वयनका चुनौती समाधानमा निर्भर छ । सहभागिता, शिक्षक क्षमता, शिक्षण सहयोग र नीतिगत सुसङ्गति सुदृढ गरी पाठ्यक्रमको अभिप्राय र कक्षाकोठाको यथार्थबिचको अन्तर घटाउन आवश्यक छ ।
(लेखक नानीराम सन्जेल, सरस्वती माध्यमिक विद्यालय, गोदावरी ५, लेले ललितपुरका शिक्षक हुन् ।)
सन्दर्भसूची :
Adhikari, S. (2024). Local curriculum in Nepal: Problems and challenges in development and implementation. Dibyajyoti Journal, 6(1), 103–118. https://doi.org/10.3126/dj.v6i1.72048
Aryal, K. (2020). Challenges in implementing curriculum reform in Nepalese schools. Journal of Education and Research, 10(2), 45–59. https://doi.org/10.3126/jer.v10i2.33420
Beane, J. A. (1997). Curriculum integration: Designing the core of democratic education. Teachers College Press. https://doi.org/10.4324/9780203124741
Beane, J. A. (2005). Curriculum integration and democratic education. Educational Leadership, 62(7), 36–40. https://doi.org/10.4324/9780203124741
Burke, K., & Lehane, P. (2023). Integrated curriculum and student learning: Opportunities and challenges. Journal of Curriculum Studies, 55(2), 145–162. https://doi.org/10.1080/00220272.2022.2145678
Curriculum Development Centre. (2019). National curriculum framework for school education in Nepal (2076). Government of Nepal, Ministry of Education, Science and Technology. http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=2451
Curriculum Development Centre. (2019). National curriculum framework for school education. Ministry of Education, Science and Technology, Government of Nepal.
Drake, S. M., & Reid, J. L. (2018). Integrated curriculum: Increasing relevance while maintaining academic rigor. Asia Pacific Journal of Education, 38(2), 121–130. https://doi.org/10.1080/02188791.2018.1452341
Fullan, M. (2016). The new meaning of educational change (5th ed.). Routledge. https://doi.org/10.4324/9781315632763
Gautam, R., & Shrestha, P. (2023). Teacher readiness and curriculum adaptation in federal Nepal. Journal of Education and Development, 33(1), 45–58.
Herro, D., Quigley, C., & Jamil, F. (2017). Teachers’ challenges in integrated curriculum implementation. Teaching and Teacher Education, 64, 145–155. https://doi.org/10.1016/j.tate.2017.02.003
Koirala, B. N. (2021). Teacher preparedness and challenges in implementing local and contextual curricula in Nepal. Nepalese Journal of Educational Research, 3(2), 22–35.
Meng, Q. (2022). Barriers to curriculum integration in developing contexts. International Journal of Educational Development, 88, 102513. https://doi.org/10.1016/j.ijedudev.2022.102513
Ministry of Education, Science and Technology (MoEST). (2021). Education sector analysis report. Government of Nepal.
Ministry of Education, Science and Technology. (2019). National curriculum framework for school education. Government of Nepal.
Mishra, N. (2023). Teachers’ perception on local curriculum in school education of Nepal. International Journal of Multidisciplinary Perspectives in Higher Education, 8(2), 31–44. https://doi.org/10.32674/jimphe.v8i2.5484
O’Breathnach, M. (2022). Teacher roles in inquiry-based learning environments. European Journal of Teacher Education, 45(3), 310–325. https://doi.org/10.1080/02619768.2021.1876812
Poudel, P. P. (2021). Teachers’ perspectives on curriculum implementation at the basic level in Nepal. Journal of Education and Practice, 12(28), 15–25. https://doi.org/10.7176/JEP
Sunuwar, Y. (2023). Practices of local curriculum at school level in Jhapa district: A review. Kanakai Journal, 3(1), 1–18. https://doi.org/10.3126/kj.v3i1.65834
UNESCO. (2022). Education policy review: Nepal. United Nations Educational, Scientific and Cultural Organization. https://unesdoc.unesco.org
UNESCO. (2022). Local curriculum and contextual learning in South Asia. UNESCO Publishing.
UNESCO. (2022). Transforming education in South Asia: Local curriculum and contextual learning. UNESCO Publishing.



