काठमाडौं/२३ असोज – त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी प्रतिनिधित्वको विषयलाई लिएर उत्पन्न विवादपछि प्रहरीले पाँच विद्यार्थी नेतालाई पक्राउ गरेको छ । उपकुलपति प्रा.डा. भोला थापामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीहरूको तत्काल रिहाइ गर्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिभुवन विश्वविद्यालय क्याम्पसले माग गरेको छ ।
पक्राउ पर्नेमा आरआर क्याम्पसका स्ववियु अध्यक्ष लोकेश खड्का, त्रिवि क्याम्पसका स्ववियु सचिव हिकमत बुढा, स्ववियु सदस्य कुलबहादुर बुढा, तेजप्रकाश सन्ज्याल र विद्यार्थी रमन उपाध्याय रहेका छन् । उनीहरूलाई प्रहरी परिसर, भद्रकालीमा राखिएको जनाइएको छ ।
विश्वविद्यालयको सिनेट बैठकमा स्ववियुको प्रतिनिधित्व हटाउने तयारी गरिएको भन्दै विद्यार्थीहरूले विरोध जनाएपछि विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीबीच विवाद भएको थियो । असोज २२ गते भएको घटनापछि असोज २३ गते दुवै पक्षबीच छलफल भएको र सहमति भइसकेपछि पनि विद्यार्थी पक्राउ गरिएको भन्दै स्ववियुले आपत्ति जनाएको छ ।
त्रिवि क्याम्पसका स्ववियु अध्यक्ष दीपक राज जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरिएको छ । विज्ञप्तिमा विश्वविद्यालयको स्वायत्तता, लोकतान्त्रिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
स्ववियुले विश्वविद्यालयको नीति निर्माण तथा निर्णय प्रक्रियामा निर्वाचित विद्यार्थी प्रतिनिधिको सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ । विश्वविद्यालयभित्र देखिएका विवादलाई पक्राउ र नियन्त्रणबाट नभई संवाद र सहकार्यबाट समाधान गर्नुपर्ने धारणा सावैजनिक गरेको छ ।
विद्यार्थी प्रतिनिधित्वको विवादसँगै भएको पक्राउ प्रकरणले त्रिविको निर्णय प्रक्रियामा विद्यार्थीको सहभागिताबारे बहस थप चर्काएको छ ।



