काठमाडौँ/२१ असोज – नेपाल मन्टेसरी एसोसिएसनले प्रारम्भिक बालविकास तथा इसिइडी शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि विभिन्न सुझाव दिएको छ । पाठ्यक्रम विकास केन्द्रलाई बुझाएको सुझावमा बालबालिकाको उमेर, विकासात्मक आवश्यकता, रुचि र क्षमताअनुसार बालकेन्द्रित तथा गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिएको छ ।
एसोसिएसनका प्रमुख सुझावहरूमा २–३ वर्षका बालबालिकाका लागि घरबाट विद्यालयतर्फ सहज रूपान्तरण बालविकास तथा हेरचाह गराउने कार्यक्रम सञ्चालन गर्न तथा ४–५ वर्षका बालबालिकालाई विद्यालय तयारी, पूर्व–पठन र पूर्व–गणितीय सीप विकासमा केन्द्रित गर्नुपर्ने रहेका छन् ।
त्यस्तै, प्रारम्भिक तहमा शारीरिक, सामाजिक, भावनात्मक, नैतिक, संज्ञानात्मक र भाषिक विकास, गणितीय सीप, वातावरण, विज्ञान, स्वास्थ्य, सुरक्षा, संगीत, कला तथा शारीरिक गतिविधिलाई सिकाइका प्रमुख क्षेत्रका रूपमा समेट्न सुझाव दिइएको छ ।
मन्टेसरी नाम प्रयोगको सन्दर्भमा छुट्टै मापदण्ड आवश्यक रहेको नेपाल मन्टेसरी एसोसिएसनकी अध्यक्ष पवित्र लिम्बुको सुझाब छ । मन्टेसरी विद्यालयमा प्रशिक्षित शिक्षक, उपयुक्त शैक्षिक सामग्री, बालमैत्री वातावरण र उमेर अनुकूल पाठ्यक्रम तथा अभ्यास हुनुपर्ने उनको भनाई छ ।
प्रारम्भिक तहमा लिखित परीक्षा, पास–फेल, श्रेणीकरण र ग्रेडिङ हटाउनुपर्ने र यसको सट्टा बालबालिकाको नियमित अवलोकन, शिक्षकको अभिलेख, विकासात्मक मूल्याङ्कन, व्यक्तिगत प्रगति विवरण, पोर्टफोलियो तथा अभिभावक–शिक्षक संवादमार्फत मूल्याङ्कन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी, इसिइडी तहका बालबालिकालाई औपचारिक गृहकार्य नदिई खेल, पारिवारिक अन्तरक्रिया, दैनिक जीवनका गतिविधि र प्राकृतिक खोज–अनुसन्धानमा आधारित घरायसी सिकाइलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ ।
मन्टेसरी विद्यालयका शिक्षकले सैद्धान्तिक तथा प्रयोगात्मक गरी ४ सय घण्टाको औपचारिक तालिम प्राप्त गरेको हुनुपर्ने, मन्टेसरीका आधारभूत शैक्षिक दर्शन तथा सिद्धान्तहरूमा कम्तीमा ३५० घण्टाको आधारभूत तालिम लिएको हुनुपर्ने सुझावमा उल्लेख छ ।
साथै विद्यालयको समय निर्धारण गर्दा बालबालिकाको उमेर, आराम, खेल, पोषण, शारीरिक गतिविधि र विकासात्मक आवश्यकतालाई ध्यान दिनुपर्ने तथा लामो समयसम्म औपचारिक कक्षामा राख्ने अभ्यासलाई निरुत्साहित गर्नुपर्ने बताएको छ ।



