काठमाडौं/२० असोज – प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले डिप्लोमाथन वल्र्ड सिम्पोजियम २०२६ मा लगातार दोस्रो वर्ष ‘ओभरअल बेस्ट डेलिगेसन’ को उपाधि जितेको छ । प्रतियोगितामा प्रदान गरिएका १२ वटा अवार्डमध्ये प्रिमियरका विद्यार्थीले ८ वटा अवार्ड हात पारेका हुन् ।
यस वर्षको उपलब्धिको विशेष पक्ष प्रिमियरका विद्यार्थीले एउटै समिति वा एउटै उमेर समूहमा मात्र सीमित नभई चारवटै समितिमा सफलता हासिल गर्नु रहेको छ । जलवायु परिवर्तन, विश्व स्वास्थ्य, शिक्षाको भविष्य तथा मिडिया, गेमिङ र मनोरञ्जनसँग सम्बन्धित समितिमा ग्रेड ५ देखि ग्रेड १० सम्मका विद्यार्थीले विभिन्न विधाका अवार्ड प्राप्त गरेका हुन् ।
व्यक्तिगत अवार्डतर्फ ग्रेड ५ की अमिषा कोइरालाले ‘एसडीजी १३ : क्लाइमेट एक्सन’मा ‘बेस्ट डेलिगेट’ अवार्ड प्राप्त गरिन् । सोही कक्षाका अनुज केइ घिमिरेले ‘एसडीजी ३ ः गुड हेल्थ एन्ड वेल–बिइङ’ समितिमा ‘बेस्ट डेलिगेट’को उपाधि हात पारे ।
एसडीजी ३ समितिमै ग्रेड ५ की शर्लिन लुइँटेलले ‘हाई कमेन्डेसन’ र ग्रेड ५ की पारिणिधि शाहीले ‘स्पेसल मेन्सन’ प्राप्त गरिन् । त्यस्तै, ग्रेड ६ की दर्शनीका न्यौपानेले ‘युनाइटेड प्यानल फर फ्युचर रेडी एजुकेसन’मा ‘हाई कमेन्डेसन’ प्राप्त गरिन् ।
मिडिया, गेमिङ एन्ड इन्टरटेनमेन्ट समितिमा पनि प्रिमियरका विद्यार्थीले उल्लेखनीय प्रदर्शन गरेका थिए । ग्रेड ९ का आयुष्मान अग्रवालले ‘बेस्ट डेलिगेट’, ग्रेड १० का एरोन श्रेष्ठले ‘हाई कमेन्डेसन’ र ग्रेड ९ की अनुष्का रोयले ‘स्पेसल मेन्सन’ अवार्ड प्राप्त गर्न सफल भए ।
डिप्लोमाथनमा सफलता हासिल गर्न विषयको तयारी मात्र पर्याप्त हुँदैन । सहभागी विद्यार्थीले आफूले अध्ययन गरेको विषयमा स्पष्ट धारणा बनाउनुपर्ने, फरक विचार सुन्नुपर्ने, छलफलका क्रममा उठेका प्रश्नको तत्काल जवाफ दिनुपर्ने तथा बहसलाई साझा समाधानतर्फ अघि बढाउनुपर्ने रहेको थियो । यस प्रक्रियामा एउटै सही उत्तरभन्दा पनि तर्क, संवाद, सहकार्य र निर्णय क्षमताले महत्त्व राख्ने जनाइएको छ ।
यस वर्षका विभिन्न समितिले सार्वजनिक स्वास्थ्य र जलवायु परिवर्तनदेखि शिक्षाको भविष्य, डिजिटल संस्कृति तथा मनोरञ्जनको बढ्दो प्रभावसम्मका समसामयिक विश्वव्यापी विषयलाई समेटेका थिए । फरक विषय र समितिमा सहभागी भए पनि विद्यार्थीले अनुसन्धान गर्ने, प्रश्न उठाउने, आफ्ना विचार प्रस्तुत गर्ने, फरक दृष्टिकोण बुझ्ने र समाधान खोज्ने समान सीप प्रयोग गरेका थिए ।
प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले अन्तर्राष्ट्रिय बक्कलुरिएट (आईबी) को शैक्षिक दृष्टिकोणअनुसार विद्यार्थीलाई प्रश्न गर्न, फरक विचारबीच संवाद गर्न, विभिन्न दृष्टिकोण बुझ्न तथा कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक संसारसँग जोड्न प्रोत्साहित गर्दै आएको जनाएको छ ।
डिप्लोमाथनजस्ता कार्यक्रमले विद्यार्थीलाई यिनै सीप वास्तविक परिस्थितिमा प्रयोग गर्ने अवसर प्रदान गर्ने विद्यालयको भनाइ छ । यस वर्ष प्राप्त ८ व्यक्तिगत अवार्ड र ‘ओभरअल बेस्ट डेलिगेसन’ को उपाधिले अनुसन्धान तथा प्रश्नमा आधारित सिकाइबाट विकसित सीपलाई फरक–फरक विश्वव्यापी मुद्दामा प्रयोग गर्न सकिने देखाएको छ ।
यस उपलब्धिको अर्को पक्ष विद्यार्थीको सिकाइ सीपको प्रयोगक्षमता पनि हो । ग्रेड ५ का विद्यार्थीले जलवायु परिवर्तन र सार्वजनिक स्वास्थ्यजस्ता विश्वव्यापी विषयमा बहस गरेका छन् भने ग्रेड ६ का विद्यार्थीले शिक्षाको भविष्यबारे छलफल गरेका छन् । त्यसैगरी, ग्रेड ९ र १० का विद्यार्थीले गेमिङ तथा डिजिटल संस्कृतिका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका छन् ।
विषय फरक भए पनि सबै समितिमा विद्यार्थीले प्रश्न गर्ने, संवाद गर्ने, फरक दृष्टिकोण बुझ्ने र स्पष्ट उत्तर नभएका परिस्थितिमा उपयुक्त निर्णय लिनेजस्ता समान सीप प्रयोग गरेका थिए ।
लगातार दोस्रो वर्ष प्राप्त ‘ओभरअल बेस्ट डेलिगेसन’ को उपाधिले प्रिमियरको डिप्लोमाथन यात्रामा अर्को उपलब्धि थपिएको छ । विद्यालयका अनुसार यो सफलता केवल प्रतियोगितात्मक उपाधिमा सीमित नभई विद्यार्थीले कक्षाकोठाभन्दा बाहिर सिकाइलाई प्रयोग गर्दै सोच्ने, सुन्ने, संवाद गर्ने, सहमति खोज्ने र नेतृत्व गर्ने क्षमताको प्रतिबिम्ब पनि हो ।
प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलका अनुसार विद्यालयमा अर्ली इयर्सदेखि डिप्लोमा प्रोग्रामसम्मको पूर्ण आईबी कार्यक्रम सञ्चालन हुँदै आएको छ । डिप्लोमाथन वल्र्ड सिम्पोजियममा लगातार दोस्रो वर्ष प्राप्त यो उपलब्धि विद्यालयले अघि बढाउँदै आएको समग्र सिकाइ संस्कृतिको अर्को उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।



