जुम्ला/११ असार – हिमा गाउँपालिकाको २०औँ गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहायक कर्मचारी, विद्यालय सहयोगी तथा बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने घोषणा गरेको छ ।
गाउँसभाको नीति तथा कार्यक्रमबाट उनीहरूको सेवा सुविधा थप गर्ने तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय पारित गरेको हो ।
लामो समयदेखि न्यून पारिश्रमिक, अस्थिर सेवा अवस्था र सामाजिक सुरक्षाको अभावका बीच शिक्षा क्षेत्रको आधारस्तम्भ बनेर काम गरिरहेका विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको श्रम, त्याग र समर्पणलाई गाउँपालिकाले औपचारिक रूपमा सम्बोधन गरेको भन्दै पालिकाका विद्यालय कर्मचारी र शिक्षकहरूले खुसी व्यक्त गरेका छन् ।
हिमा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले विद्यालय कर्मचारी, इसिडी शिक्षकहरूको पीडा, सङ्घर्ष र योगदानलाई बुझेर उनकै नेतृत्वमा गाउँपालिकाले लिएको निर्णयले सामाजिक न्यायको विजय भएको उनिहरूको भनाई छ ।
सामाजिक सुरक्षा कोषमा आबद्धताले भविष्यमा स्वास्थ्य सुरक्षा, दुर्घटना सुरक्षा, अवकाश सुविधा लगायतका सामाजिक सुरक्षाका अधिकार सुनिश्चित गर्ने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ । यसले कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै विद्यालयको सेवा प्रवाह र शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।




