नेपाली शिक्षाको परिभाषा र व्यवस्थापनमा सार्वजनिक बुद्धिजीवीको अनुपस्थिति

काठमाडौँ/२३ जेठ – हरेक समाजमा त्यो समाजसँग जोडिएका शिक्षाविद् वा बुद्धिजीवीको त्यही विषयको नीतिगत तथा प्रशासनिक व्यवस्थापन गर्ने पदाधिकारीहरूसँगको सम्बन्धको आधारमा त्यो विषयको विकास र विस्तार भएको हुन्छ । यो सम्बन्धलाई, विशेष गरी शिक्षाको क्षेत्रमा, कसरी परिभाषित गर्ने र बुद्धिजीवीहरूको योगदान के कस्तो हुन्छ भन्ने वारेमा यो आलेखमा चर्चा गरिनेछ ।


वैदिक शिक्षामा मानिसका चार पुरुषार्थहरू (धर्म, अर्थ, काम र मोक्ष) जन्म मरणको दुश्चक्रबाट जीवात्मालाई छुटकारा दिलाउने स्वतन्त्र इच्छा हुन । विशेष गरी मानिसले यी स्वतन्त्र इच्छाहरू आफ्नो विवेकद्वारा कामना गर्न, मनन गर्न र ध्यान गर्न सक्छ । यिनीहरूको सीमा परम चेतनासँग एकाकार गर्न सम्मको लागि मात्र हुन्छ र यी असीमित हुदैनन् । यही नै वैदिक शिक्षाको परम लक्ष हो । अर्को तर्फ कर्मको सिद्धान्तले सञ्चित कर्म, प्रारब्ध कर्म र क्रियमाण कर्मले नै मानिसको नियति वा भाग्य निर्धारण गर्छ र व्यक्तिको प्रयास केवल नकारात्मक कर्मलाई विनाश गर्नु र अर्को जन्मको लागि सकारात्मक कर्म सञ्चित गर्नुसम्म हुन सक्छ र प्रयासले मात्र केही हुदैन ।


सबै पूर्व जन्मका कर्महरूबाट सञ्चय भएको कर्मको भोगलाई सञ्चित कर्म भनिन्छ । यो जन्मका लागि निर्धारित भएको कर्मको भोगलाई प्रारब्ध कर्म भनिन्छ । त्यसै गरी मानिसको स्वतन्त्र इच्छाद्वारा गरिने र आगामी जन्मलाई सञ्चित हुन सक्ने कर्मलाई कृयमाण कर्म भनिन्छ । यो कृयमाण कर्म मात्रै स्वतन्त्र इच्छामा आधारित हुन्छ । यी तीन कर्मफलको भोगको सिद्धान्तलाई नियतिवाद पनि भनिन्छ । यी दुवै पुरुषार्थ र कर्म फलको सिद्धान्तमा गरिएको विश्वासले यिनको सीमिततालाई जोड मात्र दिएको छैन, निराशालाई प्रोत्साहन समेत गरेकोछ ।


चार वेदमा उल्लेख गरिएका चार महावाक्यहरू पनि यिनै वैदिक शिक्षाको परम लक्ष भन्दा फरक छैनन् । यी वाक्यहरूले व्यष्टि (जीवात्मा) र समष्टि (परमात्मा) को एकाकारलाई नै शिक्षा मानेर क्रमागत वाक्यहरूको पदावली उल्लेख भएको छ । सबै भन्दा पहिलो उपदेशात्मक वाक्य “तत्वमसि–त्यो तिमी नै हौ” । यो महावाक्य सामवेदमा आधारित छान्दोग्य उपनिषद्–, ६.८.७ मा उल्लेख छ । यहाँ त्यो भनेर ब्रह्म–परमचैतन्य लाई भनिएको छ । दोस्रो लाक्षणिक वाक्य “प्रज्ञानम् ब्रह्म–चैतन्य नै ब्रह्म हो” । यो महावाक्य ऋग्वेद मा आधारित ऐत्तरेय उपनिषद् –३.३ मा उल्लेख छ । तेस्रो अनुसन्धानात्मक वाक्य “अयमात्मा ब्रह्म–यो आत्मा नै ब्रह्म हो” । यो महावाक्य अथर्वेदमा आधारित माण्डूक्य उपनिषद्–१.२ मा उल्लेख छ ।


अन्तिम तथा सबै भन्दा महत्वपूर्ण अनुभवात्मक वाक्य “अहम् व्रह्माष्मि–म नै ब्रह्म हुँ” । यो महावाक्य शुक्ल यजुर्वेदमा आधारित बृहदारण्यक उपनिषद्–१.४.१० मा उल्लेख छ । यी सबै महावाक्यले परमचैतन्यलाई नै शिक्षाको अन्तिम लक्ष मानेर यसलाई प्राप्त गर्न सकिने विभिन्न स्तरको व्याख्या गरेका छन् । माथिल्लो हरफमा भनिएका चार पुरुषार्थ र कर्मको सिद्धान्तले बहिरङ्ग साधानाका तर्फबाट मोक्ष (शिक्षा) हासिल गर्ने विधिका वारेमा उल्लेख गरेको छ भने तल्लो हरफका महावाक्यहरूले अन्तरङ्ग साधनाका माध्यमबाट मोक्ष (शिक्षा) हासिल गर्ने विधिका वारेमा उल्लेख गरेका छन् । वैदिक ग्रन्थमा पारङ्गत विद्वान्हरूले सत्य र सत्तालाई एउटै अर्थमा हेरेको पाइन्छ । पश्चिमा विद्वान्हरूमा जर्मन दार्शनिक हेगेलले पारलौकिक परम सत्ता परमात्मालाई र लौकिक परमसत्ता राज्यको उच्च पदलाई मानेका छन् । यसमा कार्ल माक्र्सले पारलौकिक सत्तालाई नकार्दै लौकिक भौतिक सत्तालाई नै सर्वोच्च चेतना मान्दछन् । सत्य अर्थात् सत्ता जे भने पनि वैदिक तथा आधुनिक मान्यतामा यसलाई शिक्षा भनेर मान्नु पर्ने हुन्छ र यसलाई कसरी र कसले परिभाषा गर्ने भन्ने विषय नैतिक भन्दा पर सत्ता अथवा राज्य सँग जोडिनु स्वभाविककै हो ।


नेपालको संविधानले शिक्षालाई नागरिक चेतना भन्दा अलग्गै सार्वभौमिक हक अधिकारसँग जोडेको छ । विश्वविद्यालय ऐन २०८१ ले विश्वविद्यालयलाई “मुलुकको सर्वाङ्गीण विकासका लागि योगदान दिन सक्ने दक्ष, जिम्मेवार, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्ने” उपकरणको रूपमा परिकल्पना गरेको छ, न कि मानव उत्थान र चेतना र परमचेतना । त्यसै गरी, शिक्षा ऐन २०२८ ले “राष्ट्रिय विकासको लागि आवश्यक जनशक्ति तयार गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुकूल सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्न” भनी राज्य संरचनालाई स्थायित्व दिने तर शिक्षा के र कसरी भन्ने वारेमा उल्लेख गरेको पाइदैन ।


प्राविधिक तथा व्यावसायिक तालिम परिषद् ऐन २०४५ ले “आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न सुनियोजित रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको व्यवस्था तथा सीपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्न” प्रस्तावनामा उल्लेख गरेर के र कसरी भन्ने तर्फ केही उल्लेख गरेको पाइदैन । प्रारम्भिक वाल विकास सहितको आठ कक्षा सम्मको आधारभूत शिक्षा, ९–१२ कक्षाको माध्यमिक शिक्षा (साधारण तथा व्यावसायिक) र ४ जोड २ जोड ३ को उच्च शिक्षामा वर्गीकरण गरिएको नेपालको शिक्षा प्रणाली विद्यालय संरचना र व्यवस्थापनमा केन्द्रित रही शिक्षा के कसरी अर्थ निर्माण गर्ने भन्नेमा स्पष्ट भएको पाइदैन । अझ स्पष्ट शब्दमा भन्दा त शिक्षा अथवा शिक्षा प्रणालीले शिक्षा के भन्ने विषयमा सामान्य सम्बोधन गर्न खोजे पनि शिक्षा किन र कसरी भन्ने समझको पाटोमा केही उल्लेख गरेको पाइदैन ।


औद्योगिक क्रान्तिसँगै शिक्षामा पनि व्यापक भौतिक विकास तथा पुस्तान्तरीय विकास पनि भएको छ । कृषि युगको शिक्षा (३००० ई पूर्व देखि सन १७०० सम्म) को शिक्षा मुख्य गरी शिक्षक केन्द्रित थियो । यसलाई शिक्षा १.० भनी नामाकरण गरेको पाइन्छ । औद्योगिक युगको शिक्षा (१८ देखि २० औँ शताब्दीको मध्यसम्म) जसलाई शिक्षा २.० भनेर नामाकरण गरियो यसले विद्यार्थीलाई पनि केन्द्रमा ल्याउन प्रयास गर्दै व्यवस्थित शिक्षण प्रशिक्षण गर्ने अवधारणा विकास गर्यो । त्यसै गरी सूचना प्रविधिको युग (१९९० देखि २०२० सम्म) शिक्षा शिक्षक केन्द्रित वाट विद्यार्थी केन्द्रित हुन थाल्यो । यसलाई शिक्षा ३.० भनेर नामाकरण गरियो । चौथो औद्योगिक क्रान्ति पछि उच्च प्रविधिको प्रवेशले विद्यार्थी अनुकूलित, निजात्मक र अनुभवात्मक शिक्षण सिकाईद्वारा एक्काइसौँ शताब्दीको नप्रवर्तनात्मक सीप तथा ज्ञान प्रदान गर्ने शिक्षाको सुरुआत भयो र यसलाई शिक्षा ४.० भनेर नामाकरण गरियो । नेपालको शिक्षा प्रणाली माथि उल्लेख गरिएका सबै संरचनाहरूमा शिक्षा २.० र ३.० को मिश्रित अवस्थामा रहेको छ भने शिक्षा ४.० को अवधारणागत चिन्तन मात्र सुरु भएको छ । व्यावसायिक शिक्षामा कार्यगत अभ्यास सहितको सिकाई र कार्यस्थलमा आधारित तथा कार्यमा आधारित सिकाईको सुरुआत भएको छ ।


शिक्षा के र किन भन्ने राजनैतिक र प्रशासनिक विषय मात्र नभएर विशुद्ध प्राज्ञिक विषय हो । यसको निक्र्योल, सार्वजनिक बुद्धिजीवीहरूले गर्ने परम्परा रहिआएको छ । र तेस्रो विषय शिक्षा कसरी भन्ने श्रोत व्यवस्थापनमा पर्ने भएकाले यो प्रशासनिक तथा राजनैतिक प्रयासको विषय हुन जान्छ । हामी कहाँ सार्वजनिक बुद्धिजीवीको सटीक परिभाषा नभएको अवस्थामा ती व्यक्तिहरूको पहिचानका लागि अमेरिकी बुद्धिजिवी एलन लाइटम्यानको लेखबाट यहाँ सापट लिइएको छ । १५० वर्ष पहिले एमर्सनले “एक पूर्ण व्यक्ति जसले मानवीय सम्भावना र वास्तविकताका सबै आयामहरू समावेश गर्दछ” लाई सार्वजनिक बुद्धिजीवी भनेर व्याख्या गरे । त्यसै गरी कोलम्विया विश्वविद्यालयका एडवर्ड सइद (१९९३) ले “बुद्धिजीवीको जीवन लक्ष मानव स्वतन्त्रता र ज्ञानलाई अघि बढाउनु हो” भनेर व्याख्या गरे । लाइटम्यानले बुद्धिजीवीहरूलाई तीनवटा पदानुक्रममा व्याख्या गरेकाछन् ।


पहिलो सार्वजनिक बुद्धिजीवी जसले “आफ्नो विषयको विशेष रूपमा जनताका लागि बोल्ने र लेख्ने काम गर्दछ”, दोस्रो सार्वजनिक बुद्धिजीवी जसले “आफ्नो विषय र त्यसले वरपरको सामाजिक, सांस्कृतिक र राजनीतिक संसारसँग कसरी सम्बन्ध राख्छ, त्यसबारे बोल्ने र लेख्ने” गर्दछ र तेस्रो बुद्धिजीवी जसले “केवल निमन्त्रणाद्वारा मात्र आफ्नो बिचार राख्दछ” । यो तेस्रो बुद्धिजीवी समाजमा धेरै असरदार र प्रभावकारी भए पनि विषय विज्ञ नै हुन्छन भन्ने जरुरी नहुन पनि सक्छ ।सरकारी ओहोदामा बसेका पदाधिकारी, सामाजिक जीवनमा ख्यातिप्राप्त लब्धप्रतिष्ठित व्यक्तिहरू नै यो तेस्रो तहमा पर्दछन । सरकारी अधिकारीहरूले स्वाध्यायन गर्ने विषयमा शङ्का नगरे पनि तिनीहरू विशेष गरी प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारीमा हुने हुँदा तिनीहरूका निर्णयहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, तथा कानुनी पक्षहरूमा पर्ने असरको लेखाजोखा गर्नु प्रमुख हुने र हाम्रो शक्तिको गतिशीलतालाई समाजले प्रमुखता दिने परिवेशमा उनीहरूलाई पदेन सार्वजनिक विद्वान् भन्नुपर्ने अवस्था देखिन्छ । अर्को पक्षलाई त छिटो र सहज सन्देश वाहकको रूपमा मात्र हेरन सकिन्छ ।


नेपालमा उच्च शिक्षा, माध्यमिक शिक्षा र व्यावसायिक शिक्षाको ऐनको मस्यौदा निर्माण गर्ने क्रममा यी तिनवटा शिक्षाबिचको अन्तरसम्बन्ध र ती शिक्षाहरू के, किन कसरी जस्ता प्रश्नहरू सम्बोधन गर्न पदेन बुद्धिजीवी मात्र बोलवाला रहेको अवस्थामा सार्वजनिक बुद्धिजीवी जस्तै विश्वविद्यालयका विषयगत र अध्यापनरत प्राध्यापकहरू, माध्यमिक शिक्षामा अध्यापनरत शिक्षकहरू र व्यावसायिक शिक्षामा अध्यापनरत तथा कार्यरत पेसाकर्मीहरूलाई नै पहिलो, दोस्रो र तेस्रो सार्वजनिक बुद्धिजीवीको रूपमा समेत निर्णय प्रक्रियामा संलग्न गर्न सकियो भने पदेन बुद्धिजीवीहरूलाई अन्य प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरूमा बढी समय दिन सहज हुने र गरिएका प्रयोगहरू प्रभावकारी हुन गइ वैदिक शिक्षादेखि आधुनिक शिक्षाको परिभाषा अनुरूप शिक्षा प्रणालीमा पूर्व ज्ञान (प्रिकग्निशन), संज्ञान (कग्निशन) र मान्यता (रिकग्निशन) समेत समावेश गरी प्राज्ञिक व्यवस्थापन गर्न सकिन्थ्यो की ?


(लेखक ई. महेश भट्टराई सीटिइभीटीका पूर्व सदस्य सचिव हुन् )