अत्यधिक गर्मीका कारण पाँच दिनका लागि विद्यालय बन्द

बर्दीबास/२२ जेठ – अत्यधिक गर्मी बढेपछि महोत्तरीको गौशाला नगरपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पर्न थालेपछि नगर भित्रका सबै विद्यालय बिदा गर्ने निर्णय गरेको हो ।


नगरपालिकाका सूचना आधिकारी रंजित कुमार बर्माका अनुसार अनुसार पछिल्ला केही दिनदेखि निरन्तर बढिरहेको गर्मीले जनजीवन प्रभावित हुनुका साथै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था देखिएपछि बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।


जेठ २२ गते शुक्रबारदेखि आगामी २५ गते सोमबारसम्म सामुदायिक र संस्थागत विद्यालय पूर्णरूपमा बन्द रहनेन् । अत्यधिक गर्मीका कारण विद्यार्थी दिनहुँजसो बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको जनाइएको छ ।


गौशाला नगरपालिकाभित्र ३१ सामुदायिक, ३० संस्थागत र सात धार्मिक गरी कुल ६८ विद्यालयहरू सञ्चालनमा रहेका छन्, जहाँ २० हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।