विद्यालय कर्मचारी सरकार विरुद्ध आन्दोलनमा उत्रिए, माग सम्बोधन गर्न दबाब

काठमाडौँ /२० जेठ – नेपाल विद्यालय कर्मचारी परिषद्सहित चार संगठन सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सबै राष्ट्रसेवक कर्मचारीहरूको तलब भत्तामा २१ प्रतिशतसम्म वृद्धि र महँगी भत्ता समेत दिने भनिएपनि सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विषय प्रति बजेटमा कुनै सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।


अखिल नेपाल विद्यालय कर्मचारी संगठन, नेपाल विद्यालय कर्मचारी संगठन, नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल विद्यालय कर्मचारी परिषद् गरी विद्यालय कर्मचारीहरूका चार छाता संगठनहरूले संयुक्त विद्यालय कर्मचारी सङ्घर्ष समितिको घोषणा गर्दै चरणबद्ध आन्दोलनमा उत्रन सदस्यहरूलाई निर्देशन दिएका छन् ।


प्रथम चरणका आन्दोलनका कार्यक्रमहरू जेठ २१ गतेदेखी असार ५ गतेसम्म विभिन्न चरणमा गरिने परिषद्ले जनाएको छ ।
विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूले न्यून सेवा सुविधामा काम गर्दै आएका छन् । साथै नेपाल सरकारले नै निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने कानुनी व्यवस्थाको सरकारलेनै उल्लङ्घन गर्दै आईरहेको छ । सेवा सुविधाका मागहरू रखेर पटक पटक आन्दोलनमा उत्रिएका कर्मचारीहरूलाई राज्यले यसपालि पनि बजेटमा सम्बोधन गरेन । शिक्षकहरूसँग गरिएको ९ बुँदे सहमतिदेखी बजेटसम्म कर्मचारीहरूलाई बेवास्ता गरिँदै आइएको छ ।


आन्दोलनका कार्यक्रमहरू


१. राष्ट्रिय समितिद्वारा नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा इमेल र सामाजिक सञ्जाल ध्यानाकर्षण गराउने ।


२. प्रदेश समितिद्वारा नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र प्रदेश सरकारलाई इमेल र सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउने ।


३. जिल्ला समिति जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा इमेल र सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउने ।


४.स्थानीय समितिद्वारा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहमा इमेल र सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउने ।


५. जिल्ला समिति मार्फत आफ्नो जिल्ला भित्रका विद्यालय कर्मचारीको अवस्था सहित बजेटबाट विद्यालयमा कार्यरत कर्मचारीहरूलाई बेवास्ता गरिएको सम्बन्धमा फोन मार्फत, इमेल मार्फत र सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउने ।


६. विद्यालयमा रही सम्पूर्ण विद्यालय कर्मचारीहरूले कालो पट्टी बाँधी सरकारले कर्मचारी प्रति गरेको व्यवस्थाको विरोध सहित कार्य गर्ने ।


७. विद्यालयमा रही सम्पूर्ण विद्यालय कर्मचारीहरूले कालो पट्टी बाँधी सरकारले कर्मचारी प्रति गरेको व्यवस्थाको विरोध सहित कार्य गर्ने । साथै सो दिन विद्यालय सहायक कर्मचारीहरूले १२ बजेदेखि १ बजेसम्म पेन डाउन (काम नगर्ने) गर्ने ।

(प्रयोग गरिएको फोटो यस अघि विद्यालय कर्मचारीले गरेको आन्दोलनको हो ।)