तहगत विद्यालय, विद्यार्थी र शिक्षक अनुपातमा संस्थागत विद्यालयमा बढी

काठमाडौँ /१४ जेठ – संस्थागत विद्यालयमा प्रति विद्यालय विद्यार्थी अनुपात बढी रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । कक्षा (१–१२) सम्मका विद्यार्थी सङ्ख्यालाई आधार मान्दा सामुदायिक विद्यालयमा प्रति विद्यालय विद्यार्थी
सङ्ख्या १६२ रहेकोमा संस्थागत विद्यालयमा यस्तो सङ्ख्या २९७ रहेको छ ।


तहगतमा विद्यालय र विद्यार्थी अनुपातमा कक्षा १ देखि ५ सम्म सामुदायिक तर्फ १३६ रहेको छ भने संस्थागतमा ६०५ रहेको छ । कक्षा ६ देखि ८ सम्म सामुदायिक तर्फ २५७ रहेकोमा संस्थागतमा २९२, कक्षा ९ र १० को प्रति विद्यालय अनुपात सामुदायिकमा १८० र संस्थागतमा ८३, कक्षा ११ र १२ मा सामुदायिकमा १२८ र संस्थागतमा २५४ रहेको सर्वेक्षणमा देखिएको छ ।


यसैगरी प्रति शिक्षक र विद्यार्थी अनुपातमा संस्थागत विद्यालयमा प्रति शिक्षक विद्यार्थी सङ्ख्या बढी रहेको छ । सामुदायिक विद्यालयमा प्रति शिक्षक विद्यार्थी सङ्ख्या औसतमा २४ रहेको छ भने संस्थागत विद्यालयमा यस्तो अनुपात २९ रहेको छ ।


कक्षा १ देखि ५ सम्म सामुदायिक तर्फ १९ रहेको छ भने संस्थागतमा ३७ रहेको छ । कक्षा ६ देखि ८ सम्म सामुदायिक तर्फ ३३ रहेकोमा संस्थागतमा २६, कक्षा ९ र १० को प्रति विद्यालय अनुपात सामुदायिकमा २३ र संस्थागतमा १२, कक्षा ११ र १२ मा सामुदायिकमा ५० र संस्थागतमा ६० रहेको सर्वेक्षणमा देखिएको छ ।