काठमाडौँ /१२ जेठ – शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी जागिर खाँदै आएका शिक्षक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार अनुसन्धान आयोगले मणिसंगम माध्यमिक विद्यालय विनयी त्रिवेणी गाउँपालिका–२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा विरुद्ध मुद्दा दायर गरेको हो ।
उजुरीका आधारमा अनुसन्धान हुँदा खन्गाहाले शिक्षक पदमा जागिर खाने गरी सेवा प्रवेश गर्दा नक्कली प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ ।
उनले २०५९/०८/०१ देखि लागु हुने गरी अस्थायी प्रावि तहको शिक्षकको ओहदा पाउन तथा २०७५/१२/२९ देखि सोही श्री भवानी माध्यमिक विद्यालयको प्रा।वि। तहको स्थायी शिक्षकमा नियुक्तिका लागि भारतीय बोर्ड नागाल्याण्ड बोर्ड अफ स्कुल एजुकेशन, कोहिमाबाट जारी भएका भनिएका प्रवेश पत्र, मार्कसिट र माइग्रेसन प्रमाणपत्र लगायतका कागजात नक्कली रहेको आयोगको भनाई छ ।
निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना सजाय हुन मागदाबी लिई सोमवार विशेष अदालत, काठमाडौँ आरोपपत्र दायर गरिएको छ ।



