काठमाडौँ/१२ वैशाख – ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका विश्वराज पोखरेलबाट प्रधानाध्यापक माथि गरिएको व्यवहार प्रति नेपाल शिक्षक महासङ्घले विरोध गरेको छ । अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै विरोध गरेको हो ।
प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेले बैशाख १० गते श्री चण्डेश्वरी मावि खिजिदेम्बा– २ ओखलढुङ्गाका प्रधानाध्यापक सन्तबहादुर मगरलाई विद्यालयको गेटमा आएर आफूलाई सम्मान नगरेको भन्दै गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
उक्त भिडियो सार्वजनिक भएपछि प्रधानाध्यापक माथि धम्कीपूर्ण र अपमानजनक व्यवहार गरिएको भन्दै नेपाल शिक्षक महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पदीय जिम्मेवारी र क्षेत्राधिकार बिर्सेर पोखरेलबाट विद्यालय हाताभित्र प्रधानाध्यापक माथि गरिएको अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि कठोर प्रहार भएको महासङ्घको भनाई छ ।
विज्ञप्तिमा भनिएको छ “हरेक पदाधिकारीको आफ्नो पदीय जिम्मेवारी र क्षेत्राधिकार हुन्छ । यस तथ्यलाई बिर्सेर माननीय पोखरेलबाट विद्यालय हाताभित्र प्रधानाध्यापक माथि गरिएको अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि कठोर प्रहार हुनुका साथै जन निर्वाचित प्रतिनिधिको गरिमा र विश्वास समेत घाइते भएको हाम्रो ठहर छ । ने.शि. महासङ्घ यस घटनाको घोर निन्दा गर्दछ ।”
साथै शिक्षा क्षेत्रको मर्यादा र स्वायत्ततालाई सम्मान गर्दै आइन्दा यस प्रकारका व्यवहार प्रदर्शन नगर्न सम्बन्धित व्यक्ति र सरोकारीत सबैमा आग्रह गरिएको छ ।



