बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा निषेध

काठमाडौँ /११ वैशाख – नर्वे सरकारले बालबालिकाको डिजिटल जीवन सुरक्षित बनाउन १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने गरी कानुन ल्याउने तयारी गरेको छ । नयाँ कानुन अनुसार सामाजिक सञ्जाल कम्पनीहरूलाई नै प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने जिम्मेवारी दिइन लागिएको हो ।


सरकारले यससम्बन्धी विधेयक संसद्मा यसै वर्षको अन्त्यसम्म पेस गर्ने तयारी गरेको छ । बालबालिकाको डिजिटल जीवन सुरक्षित बनाउन यो कदम चालेको प्रधानमन्त्री जोनास गाहर स्टोएरेले बताएका छन् ।


उनका अनुसार बालबालिकाको जीवन खेल, मित्रता र दैनिक गतिविधिमा केन्द्रित हुनुपर्ने भएपनि अहिले एल्गोरिदम र स्क्रिनले त्यसलाई प्रभावित गरिरहेको छ ।


त्यसैले बालबालिकालाई सुरक्षित बाल्यकाल सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको उनले बताएका छन् । विधेयक २०२६ को अन्त्यसम्म संसद्मा पास गर्ने लक्ष्य राखिएको छ । सरकारले कुन–कुन सामाजिक सञ्जाललाई प्रतिबन्धको दायरामा ल्याइनेछ भन्ने स्पष्ट गरेको छैन ।