काठमाडौं/२० भदौं-त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तह अन्तर्गत रहेका विभिन्न कार्यक्रममा भर्नाका लागि लिइने प्रवेश परीक्षा सिम्याटमा सहभागि हुन कक्षा ११ र १२ मा कम्तिमा १.८ जिपिए हुनुपर्ने जनाएको छ । यस भन्दा अगाडी डि प्लस हुनुपर्ने भनी विश्वविद्यालयले तोकेकोमा परीवर्तन गर्दै डी अथवा १.८ जिपिए हुनुपर्ने जनाएको हो ।
व्यवस्थापन संकाय स्नातक तह अन्तर्गत रहेका बिबिए, बिबिएम, बिआईएम, बिपिए, बिएचएम, बिटिटिएम, बिबिए–एफ र बिएमएस कार्यक्रममा भर्नाका लागि लिइने प्रवेश परीक्षा सिम्याटका लागि तोकिएको मापदण्डमा कक्षा ११ र १२ कम्तिमा डि प्लस वा जिपिए १.८ अथवा पिसिएल सरहको समकक्षता भएको कुनै पनि विषयमा कम्तिमा सेकेण्ड डिभिजन हुनुपर्ने व्यवस्थालाई परीवर्तन गरेको जनाएको छ ।
उच्च माध्यामिक शिक्षा परीषद् बोर्डद्धारा प्रकाशित कक्षा १२ को नतिजामा लेटर ग्रेडिङ्ग निर्देशिका २०७८ मा भएको ग्रेड निर्धारण सम्बन्धी व्यवस्थामा पूर्व निर्धारीत ग्रेडमा तोकिएको डि प्लस (स्विकृत अंक १.६) लाई डि (स्विकृत अंक १.६) कायम गरीएकोले विश्वविद्यालय व्यवस्थापन संकायले पूर्व प्रकाशित मापदण्डमा परीवर्तन गरेको जनाएको छ ।
साथै पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरुले पनि प्रवेश परीक्षा सिम्याटको आवेदन फाराम भर्न पाउने छन् भने २०७८ वा सो भन्दा अगाडी प्रकाशित नतिजामा उत्तिर्ण भएका विद्यार्थीहरुको हकमा साविककै व्यवस्था अनुसार हुने समेत जनाएको छ ।



