रुपन्देही/१८ भाद्र-रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा रहेको श्री रामनरेश यादव आदर्श नमूना माबिमा भारत सरकारको अनुदानमा दुईतले भवन तथा विज्ञान प्रयोगशाला निर्माण भएको छ । दुई करोड ९९ लाख रुपैयाँ लागतमा निर्मित उक्त भवनको आज गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
निर्माण सम्पन्न भएको लामो समयपछि विद्यालय भवन उद्घाटन गरिएको हो। उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री खाणले नेपाल–भारत छिमेकी राष्ट्र मात्रै नभएर असल छिमेकी देश भएको बताए। दुई देशबीच असल, औपचारिक र कूटनीतिक सम्बन्ध मात्रै नभई नागरिकस्तरको सम्बन्ध झनै राम्रो भएको जनाउँदै खाणले यसले निकटता अझै नजिक बताएको जनाए ।
नेपाल–भारत दुबै देश बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक भएको प्रष्टयाउँदै गृहमन्त्रीले चाडपर्व, परम्परा एकआपसमा मिल्दाजुल्दा हुनुले पनि दुई देशबीचको सम्बन्ध जनस्तरबाटै राम्रो हुँदै आएको बताए । खाँणले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, सामाजिक विकास र भौतिक पूर्वाधार विकासमा अतुलनीय सहयोग गर्दै आएको जानकारी दिए ।
‘नेपालको सम्रग विकासका लागि भारतीय सहयोग प्रशंसनीय छ, यसका लागि नेपाल सरकार र नेपालीहरुको तर्फबाट धन्यवाद भन्नुपर्छ’, उनले भने । खाणले नेपाल विकासमा अघि बढिरहेका बेला अन्तर्र्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताउँदै यसका लागि भारतको सहयोग निरन्तर रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे ।
उनले कोरोना महामारीको जटिल समयमा भारतले नेपालमा खोप उपलब्ध गराएर नेपाल–भारत सम्बन्धमा अतुलनीय र प्रशंसनीय काम गरेको बताए। ‘यो भारतले नेपालमाथि गरेको महत्वपूर्ण योगदान हो’, उनले भने । हजारौं विद्यार्थीहरुको उज्ज्वल भविष्यसँग जोडिएको भौतिक र प्राविधिक संरचनाको निर्माणमा सहयोग गर्नु आफैमा सह्रानीय काम भएको उनले बताए । ‘यहाँ अध्ययन गरेका विद्यार्थीले भोलिका दिनमा मुलुकको मात्रै नभएर सिंगो विश्वलाई हित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन्’, उनले भने, ‘त्यसका लागि राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय परिवारलाई म आग्रह गर्छु ।’
विद्यालयलाई जमिन उपलब्ध गराउने स्व।रामनरेश यादव रुपन्देहीको विशिष्ट व्यक्ति भएको भन्दै उनले स्मरण गरे । ‘उहाँ विकासप्रेमी, शिक्षाप्रेमी, समाजसेवी र जनताको नेता हुनुहुन्थ्यो । उहाँको नामामा स्थापित यस विद्यालयले उहाँको भूमिकालाई सधैभरी स्मरण गर्नेछ । हामी सबैले गर्नेछौं’, गृहमन्त्री खाणले भने ।
उनले विद्यालयको भवन निर्माणमा सहभागी सबै र सहयोग गर्ने भारत सरकार धन्यवादको पात्र भएको बताए । अर्को प्रशंगमा खाँणले नेपालको संविधान बनेको र यसले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको बताए । ‘संविधानले जनतालाई नेपालको मालिक बनाएको छ’, उनले भने, ‘त्यही संविधान बमोजिम नेपाली जनतालाई अझै सबल, सक्षम र सुदृढ बनाउँदै विकासतर्फ सरकार अगाडि बढीरहेको छ ।’
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले दुई देशबीचको सम्बन्ध सदियौं देखिको भएको जनाए । श्रीवास्तवले नेपालको स्वास्थ्य, शैक्षिक तथा भौतिक पूर्वाधार विकास लगायत समग्र क्षेत्रमा भारत सरकारले निरन्तर सहयोग गरेको बताउँदै आउँदा दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपालका प्रत्येक प्रदेश र स्थानीय तहमा आवश्यकताका आधारमा भारत सरकार र राजदूतावासले सहयोग गर्दै जानेछ’, उनले भने । श्रीवास्तवले रामनरेश मावि धेरै पूरानो शैक्षिक संस्था भएको जनाउँदै यस्तो विद्यालयमा सहयोग गर्न पाउँदा शुखी लागेको बताए ।



