काठमाडौं/१८ भदौं-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले असोज ३० र ३१ गते सञ्चालन गर्ने गरी ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
ग्रेड वृद्धि पूरक परीक्षा असोज ३० गते बिहान ११ बजेदेखि शुरु हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने र ३१ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले जनाएको छ ।
नियमित परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी नट ग्रेड प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयसम्म ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउनेछन् ।




