अधिकांश विद्यार्थी र शिक्षकलाई ज्वरो आएपछि विद्यालय बन्द


रोल्पा/१४ असोज-रोल्पाको सुनछहरी गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई भाइरल ज्वरो आएपछि विद्यालय बन्द गरिएको छ ।


विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी र शिक्षकमा एक्कासी भाइरल ज्वरो आएपछि विद्यालय खुलेको केही दिनमै बन्द गरिएको हो ।


विद्यार्थी तथा शिक्षकमा ज्वरो आउने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने, बान्ता हुने, खोकी लाग्ने र कमजोरी महसुस हुने लगायतका लक्षण देखिएको बताइएको छ ।


स्वास्थ्य चौकी फगामका प्रमुख रञ्जीतकुमार यादवका अनुसार भाइरल ज्वरो सरुवा र मौसमी भएकाले यसबाट सुरक्षित रहन सबैलाई आग्रह गरेको बताए ।


कोरोना संक्रमणमा कमि आए सँगै विद्यलाय भौतिक रुपमा सञ्चालन गरिएको थियो । साथै भौगोलिक विकटता का कारण वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणको लागि अनलाइन कक्षा सञ्चालन गर्न नसकिने भएका कारण विद्यलाय सञ्चालन गरिएको विद्यलायले जनाएको छ ।