काठमाडौं/ १० असार- नेपाल शिक्षक महासङ्घले महासङ्घका पदाधिकारीलाई बदनाम गर्ने नियतबाट आधारहिन व्यक्तिगत लाञ्छना लगाउँदै सामाजिक सञ्जाल लेखिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दे विभिन्न मागहरु सरकार समक्ष पेश गरी नेपाली शिक्षक र विद्यालय कर्मचारीका पक्षमा आन्दोलन चलिरहेको बेला पदाधिकारी माथि प्रहार हुनु नियोजित रहेको भन्दै महासङ्घले ध्यानाकर्षण भएको जनाएको हो ।
शिक्षक–कर्मचारीलाई यस्ता भ्रमात्मक प्रचारमा विश्वास नगर्न आग्रह गर्दे विज्ञप्तिमा भनिएको छ “केही गलत मनशासबाट सञ्चालित व्यक्तिहरु आन्दोलन सञ्चालन भए देखि नै संस्थाको उपस्थिति र औचित्य माथि नियोजित प्रहार गरी शिक्षक एकता र आन्दोलन विफल तुल्याउन सक्र्रिय देखिएका छन् । गलत मनशाय तथा आग्रह प्रेरित भई गरिने यस्ता भ्रमात्मक प्रचारबाट प्रकारान्तले सरकार र तिनको पक्षधरहरुलाई नै मद्दत पुग्ने कुरामा कुनै शंका छैन ।”
“२०७४ फाल्गुणमा भएको प्रथम राष्ट्रिय महाधिवेसनबाट अहिलेको समिति नेतृत्वमा आएपछि संस्था भित्र कुनै आर्थिक अपचलन र अनियमितता भएको छैन । कोही कसैलाई त्यस्तो लाग्छ भने सो कुरा सावित गर्न हामी सार्वजनिक चुनौती दिन चाहन्छौं । अन्यथा कुण्ठा र हिनमानसिकताबाट ग्रसित भई यस्ता आधारहिन कुरा सामाजिक सञ्जालमा जथाभावी नलेख्न आग्रह गर्दछौं” विज्ञप्तिमा उल्लेख छ ।
नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीको हस्ताक्षर रहेको विज्ञप्तिमा संस्थागत मर्यादा र आस्था माथि समेत आँच आउने गरी अनियन्त्रित र अराजक क्रियाकलाप गर्ने गराउने त्यस्ता व्यक्तिहरुलाई नियमानुसार कार्यवाही गर्न समेत आग्रह गरिएको छ ।
पछिल्लो समय नेपाल शिक्षक महासङ्घको नेतृत्व विवाद बारे र ५७ लाख बेरुजु रहेको भन्दै केहि शिक्षकहरुले सामाजिक सञ्जाल मार्फत कुरा उठाउदै आइरहेका छन् ।



