रुपन्देही/८असार- रुपन्देहीको तिलत्तोमा नगरपालिकाले सामुदायिक विद्यालयमा आवश्यकता अनुसार बस खरिदका लागि अनुदान रकम दिने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम अनुसार सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुका लागि यातायातको बढ्दो मागलाई ध्यानमा राखी प्राथमिकताको आधारमा अनुदान रकम दिने भएको हो ।
विद्यालयहरुको साझेदारीमा आगामी आर्थिक वर्षमा कम्तिमा ३ वटा विद्यालयलाई बसखरिदको लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराउने जनाएको छ । साथै नगरपालिकाबाट अनुदान प्राप्त गरेका बस सञ्चालनको लागि प्रतिविद्यालय वार्षिक एक लाख रुपैंयाँ अनुदान उपलब्ध हुने छ ।
‘हामी सबैको प्रण : सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ समग्र शिक्षा प्रणालीको सुधारका लागि स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र योजनाको साथ अगाडि बढिने नितिमा उल्लेख गरिएको छ । सामुदायिक विद्यालयलाई थप प्रविधिमैत्री बनाउनका लागि सामुदायिक विद्यालयमा ईन्टरनेट सेवाको व्यवस्था मिलाउने भएको छ ।
सामुदायिक एवं संस्थागत विद्यालय बीचको भिन्नताको अन्त्य,असल अभ्यासहरुको आदान–प्रदान, शिक्षा क्षेत्रका “आशालाग्दा अभ्यास” र “प्रयास गरे परिवर्तन सम्भव छ” भन्ने मान्यता स्थापित गर्दे नगरपालिकालाई “शैक्षिक हब” को रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
सूचना प्रविधिलगायत अन्य प्राविधिक शिक्षा अध्यापनका लागि तिलोत्तमा सिटी कलेजको स्थापना गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएकोमा विभिन्न विश्वविद्यालय तथा सिटिइभिटीसँग सम्बन्धन लिई कलेज सञ्चालन लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शिक्षक दरबन्दी मिलान र सरुवाको मापदण्ड तयार पारी शिक्षक–विद्यार्थी अनुपात समतामुलक रुपमा व्यवस्थापन गरिने नितिमा भनिएको छ । बालविकास केन्द्र सञ्चालन सहयोगी कार्यकर्ता तथा नेपाल सरकारबाट अनुदान प्राप्त गर्ने विद्यालयमा कार्यरत कर्मचारीहरुलाई समय सापेक्ष प्रोत्साहन भत्ताको व्यवस्थालाई निरन्तरता दिइएको जनाएको छ ।
नितिमा भनिएको छ “यसै शैक्षिक सत्रबाट नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कक्षा ५ सम्म स्थानीय पाठ्यपुस्तक लागु गरिनेछ । यसबाट आम विद्यार्थीहरुमा आफ्नो नगर, यहाँको भुगोल, जातजाति, भाषाभाषी, संस्कृति, ऐतिहासिक महत्व, खुला शुन्य पोलिथिन, जन्म दिनमा वृक्षारोपण, सरसफाईलगायतका नगरपालिकाले अघि सारेका महत्वपूर्ण कार्यक्रम, पर्यटकीय स्थलहरु सम्बन्धी ज्ञान अभिवृद्धि भई व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग हुने अपेक्षा गरिएको छ । साथै आगामी आर्थिक वर्षमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरिनेछ ।”
सामुदायिक विद्यालयमा “छात्राहरुलाई सेनेटरी प्याड निःशुल्क वितरण र दिवा खाजा कार्यक्रम” लाई गुणस्तरमा सुधार गरी निरन्तरता दिने नितिमा समावेश गरेको छ ।



