काठमाडौँ ३१ जेठ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।
बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिनुभयो । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ । त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ ।
बोर्डले विद्यार्थीको पहिलो, दोस्रो र अन्तिम परीक्षालाई कसरी आधार मानेर अङ्क दिने भन्नेसमेत स्पष्ट प्रावधान बनाइदिएको छ । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिएको गत वर्षको गुनासो कम गर्न बोर्डले यस पटक धेरै मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा त्यो मूल्याङ्कनलाई फिर्ता गर्न सकिने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको छ ।
विद्यालय तथा जिल्ला समन्वय एकाइले निर्धारित समयमा काम पूरा गर्ने विश्वास व्यक्त गर्दै बोर्डका अध्यक्ष पौडेलले विद्यार्थीको समय खेर जान दिन नहुने बताउनुभयो । विगतमा पनि साउन मध्यबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने गरिएकोमा यस पटक दुई साताको हाराहारीमा मात्र विलम्ब हुने अवस्था देखिएको उहाँको भनाइ छ । सरकारले असार १ बाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको र शिक्षकहरू विद्यालयकै सम्पर्कमा हुने भएका कारण एसईईका विद्यार्थीको आन्तरिक मूल्याङ्कनलगायतका सबै काम निर्धारित समयमै हुने बोर्डको अपेक्षा छ । यो समाचार गोरखापत्रमा छ ।



