काठमाण्डौ /१६ बुधबार – आज सदासयताको राष्ट्रिय मेलमिलाप दिवस साथै टोपी दिवस । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरु पनि ढाका टोपी पछाडीका अपुष्ट इतिहास हुन् । ढाका नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान् । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमैं रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यहि टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्वनिर्भर छ, पाल्पा लगायतका धेरै ठाँउमा ढाका कपडाको उत्पादन हुनेगर्दछ ।
त्यसै गरि जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरिन्छ ।
बहुभाषी, बहुसंस्कृती अनि बहुपहिचान भएको यो सानो तर सिङ्गो अनि पूर्ण देश नेपालमा विभिन्न जातजाती, धर्म, समूदाय, सम्प्रदाय अनि प्रजातीका मान्छेहरु नेपाली मनले बनेको एकसुत्रमा बाँधिएर बसेका छौं । नेपालीपन भनेको एउटा विविधता भित्रको एकता हो । यो एकता अनि सदासयता कायम गर्न हामी नेपालीहरुको एकअर्काप्रतिको सद्भाव, शान्त चरित्र, शालिन अभिव्यक्ति लगायत मेलमिलापको लामो इतिहास अनि वर्तमान आकांक्षा अत्यन्तै महत्वपूर्ण छ ।
तात्कालिन राजतन्त्रात्मक शासन पद्धत्तिले मृत्यूदण्ड सुनाए पश्चात् प्रवासनमा रहेका बहूदलका पक्षधर अनि प्रजातन्त्रका नेताहरु २०३३ सालमा आजकै दिन मेलमिलापको अवधारणा लिएर स्वदेश फर्किएका थिए । यस मेलमिलापको नीतिनुरुप सम्पूर्ण नेपाली राजनैतिक दलहरु र राजसंस्था मिलेर नेपालीपनको रक्षा गर्नुपर्ने अवधारणा अगाडी सारेका थिए । राजनैतिक खिंचातानीले विकासको मूलबाटो विराएको आजको देश देख्दा मेलमिलापको आजसम्मको ४१ वर्ष पुरानो नीति अझै सान्दर्भिक लाग्दछ ।