काठमाडौं /१७ जेठ – माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को परीक्षा भौतिक रूपमा सञ्चालन गर्ने अवस्था नभएपछि वैकल्पिक विधिबाट मूल्यांकन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारसँग अनुमति मागेको छ । अहिलेको ऐन, नियमअनुसार परीक्षा सञ्चालन गर्नुपर्छ, तर अवस्था अनुकूल नभएकाले वैकल्पिक विधिबाट मूल्यांकनको बाटो खुलाउन बोर्डले अनुमति मागेको हो ।
सरकारले अनुमति दिएमा बोर्डले कार्यविधि बनाएर मूल्यांकन गर्ने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । यसअघि १३ जेठदेखि एसइई सञ्चालन गर्ने तालिका सार्वजनिक भए पनि संक्रमण फैलिएका कारण स्थगित भएको थियो । अघिल्लो वर्ष पनि कोभिडको जोखिमका कारण एसइई स्थगित भएको थियो । सरकारको निर्णयअनुसार अघिल्लो वर्ष एसइईका विद्यार्थीको विद्यालय आफैँले आन्तरिक मूल्यांकन गरेका थिए ।
बोर्ड अध्यक्ष पौडेलले सरकारले अनुमति दिएमा अघिल्लो वर्षको मोडालिटीमा परिवर्तन गरी मूल्यांकन हुन सक्ने बताए । शनिबार बसेको बोर्ड बैठकले परीक्षा सञ्चालन समितिले दिएको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने र त्यहाँबाट क्याबिनेट लगेर एसइईको मूल्यांकनको विधिमा अनुमति माग्ने निर्णय भएको थियो ।
वैकल्पिक विधिबाट मूल्यांकनको अनुमति पाएमा कोभिड संक्रमण अवस्था हेरेर ठाउँ र परिस्थितिअनुसार मूल्यांकनको कार्यविधि बनाउने पौडेलले बताए । कोभिड नभएको ठाउँमा विद्यालयले विद्यार्थीको उपस्थितिमा मूल्यांकन गर्न पनि सक्ने र जोखिम भएका ठाउँमा शिक्षक र विद्यालयलाई जिम्मेवार बनाएर आन्तरिक मूल्यांकन हुन सक्ने बताए । कक्षा १२ को परीक्षाको विषयमा भने निर्णय नगरी बोर्ड ‘पर्ख र हेर’को अवस्थामा छ । नयाँ पत्रिकाबाट ।



