काठमाडौं /१४ जेठ -गत वर्षको भन्दा यो वर्ष शिक्षामा बजेट वृद्धि हुने देखिएको छ । सरोकारवालाहरुले शिक्षामा बजेट न्युनतम २० प्रतिशत भन्दा बढी छुट्टयाउनु पर्ने दवाब दिइरहेको बेला विभिन्न नयाँ योजना सहित वृद्धि हुने देखिएको हो ।
कोभिड-१९ को महामारीका कारण वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्नु पर्ने भएकोले सबै विद्यार्थीको पहुँचमा पुगोस भनि यसलाई यो वर्ष प्राथमिकतामा राख्दै बजेट ल्याउने तयारि भएको छ ।
त्यस्तै ‘राष्ट्रपति शैक्षिक सुधार’ कार्यक्रम,दिवा खाजा कार्यक्रम र ‘स्वयंसेवक शिक्षक परिचालन’ लाई निरन्तरता दिदै बजेट वृद्धि गर्न अर्थ मन्त्रालयसँग माग गरिएको छ ।
सरकारले शिक्षा क्षेत्रको पूर्वाधार विकासमा जोड दिने भएको छ । सामुदायिक विद्यालयको पूर्वाधार विकास, प्राविधिक शिक्षा र मेडिकल कलेज स्थापनाका लागि शिक्षा मन्त्रालयले बजेट बढाउन माग गरेको जानकारी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमा शिक्षाको बजेट बढ्न सक्ने भन्दै नयाँ नयाँ योजना आउनसक्ने बताउनु भएको छ । विभिन्न सरोकारवाहरुले शिक्षामा २० प्रतिशत बजेट आवश्यक रहेको भने पनि शिक्षामा केहि बजेट बढ्ने उल्लेख गर्नुभएको छ ।
त्यसै गरी बालविकासका शिक्षकको तलब वृद्धिलगायतका विषयमा पनि अर्थमन्त्रालयमा सशक्त रुपमा माग उठेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार यो विषयमा अर्थ मन्त्री राम्रोसँग जानकार हुनुहुन्छ । त्यसकारण सरकारले तोकेको न्युनतम परिश्रमिक अनुसार बालविकासका शिक्षकको तलब वृद्धि हुन सक्ने स्रोतको दावि छ । शिक्षकहरुको हकमा तह हेरेर १० देखि १५ प्रतिशत वृद्धि हुने स्रोतले जनाएको छ ।



