फाइल तस्विर
बैतडी/१३ जेठ – जगदीश जोशी कक्षा ९ का विद्यनर्थी हुन । कारोनाका कारण विद्यालय बन्द भएपछि उनको दैनिकी बस्तुभाउ चराएर बित्ने गरेको छ । दुर्गम गाउँमा अनलाइन शिक्षा सम्बन्धि कुनै व्यावस्था नभए पछि साथीसँग मिलेर गाइवस्तु चराउनमै जगदीशको दैनिकी बित्ने गरेको छ ।
दशरथचन्द नगरपालिका ९ गाल्लेकका जगदीश मात्र होइनन् मनीषा जोशी,भावना जोशी र रामदत्त जोशीको पनि अनलाइन शिक्षा पढ्ने धोको पुरा नहुँदा गेठालोमै दिन बित्ने गरेको छ । रेडियोमा अनलाइन शिक्षाका बारेमा समाचार सुनेपनि आफुहरुले अहिलेसम्म अनलाइन शिक्षा कस्तो हुन्छ भन्ने कुरा अनुभूति गर्न नपाएको कक्षा ९ मा अध्ययनरत जगदीश जोशीले बताए ।
बैतडी सदरमुकामकै दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका विद्यार्थी अहिलेसम्म अनलाइन शिक्षा पढ्न नपाएको गुनासो गरेका छन् । “कोरोनाले गत वर्ष पनि पढन पाइएन । यो वर्ष पनि कोरोनाकै कारण विद्यालय बन्द भएपछि गोठालो बनेका हौं,” विद्यार्थी भावना जोशीले भन्नु भयो,परिक्षा पनि दिन पाएका छैनौँ । सरहरुले फोनबाटै भएपनि गणित र विज्ञान विषयका बारेमा पढाइ दिए हुन्थ्यो भन्ने लाग्छ ।
शैक्षिक सत्रको अन्तिममा कोरोनाका कारण परीक्षासमेत स्थगित गरेर विद्यालय बन्द गर्नु परेको दशरथचन्द नगरपालिकाका शिक्षा विभाग संयोजक मोहन नाथले बताउनु भयो । शिक्षा संयोजक नाथले भन्नु भयो “कोरानाले विद्यालय बन्द भएपछि सदरमुकामको गढी,गोठलापनी र शाहीलेक क्षेत्रमा विद्यार्थीलाई लीक्षत गरेर फ्री बाईफाईको सुविधाका लागि टेलिकमसँग समन्वय गरेका छौं । गाउँतिरका विद्यार्थीलाई अलि असहज पक्कै भएको छ । गाउँको हकमा विद्यालयका शिक्षकलाई विद्यार्थीको सम्पर्कमा रहन अनुरोध गरेका छौँ । ”
कोरानाका कारण शैक्षिक संस्था बन्द भए पनि वैकल्पिक माध्यमबाट पठापाठनका लागि बैतडीका १० वटै स्थानीय तहसँग छलफल भइरहेको बैतडीका शिक्षा समन्वय अधिकारी नरेन्द्रप्रसाद अवस्थीले बताउनु भयो । आजको गोरखापत्रमा समाचार छ ।



