परीक्षा सञ्चालनको अन्तिम तयारीमा पोखरा विश्वविद्यालय, यस्तो छ तयारी


काठमाडौं /७ जेठ -पोखरा विश्वविद्यालयले डा. तुल्सीराम भण्डारीलाई परीक्षा नियन्त्रकमा नियुक्त गरेसँगै परीक्षा सञ्चालका लागि बाटो खुलेको छ ।

परीक्षा सञ्चालन नहुदा विद्यार्थीलाई मर्का परेको र विद्यार्थीमा तनाव बढेकाले तुरुन्तै परक्षिा सञ्चालन गर्न लागिएको पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेम नारायण अर्यालले बताउनु भयो ।

कुन वैकल्पिक विधि अपनाएर कसरी परक्षिा संचालन गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा समितिले अध्ययन गरेर रिपोर्ट पेश गरिसकेको हुँदा जेठ ९ गते आइतबार छलफल गरेर परक्षिा समितिले निर्णय गर्ने अर्यालले बताउनु भयो । साथै सबै कलेजलाई परीक्षा सञ्चालनको तयारी गर्न पहिलेनै जानकारी गराईएको हुँदा समयमै परीक्षा सुरु गर्न समस्या नहुने बताउनु भयो ।

अर्यालले आइतबार छलफल गरेर परीक्षा हुनु भन्दा कम्तिमा १५ दिन अगाडि सूचना जारी गरी परीक्षा सञ्चालन गरिने जानकारी दिनु भयो ।

व्यावस्थापन संकायका डिन प्रा.हरि बहादुर खड्का संयोजक रहेको समितिले विभिन्न वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सकिने रिपोर्ट पेश गरेको छ ।

समितिले पेश गरेको विधि मध्ये एउटा विधि लिखित परीक्षाका लागि विश्वविद्यालयले प्रश्न तयार गरेर १ घण्टा अगाडि मात्र कलेजाई पठाइने र १५ मिनेट अगाडी कलेजले विद्यार्थीलाई प्रश्न उपलब्ध गराउने छ । विद्यार्थीले प्रश्न पत्र पाएपछि निश्चित समय भित्र लेखेर कलेजलाई उत्तर पठाउनु पर्ने हुन्छ ।

विद्यार्थीले लेखेर पठाएको कपि कलेज आफैले जाँचेर अंक विश्वविद्यालयलाई पठाउने छन् । साथै पछि हार्ड कपि पनि कलेजले विश्वविद्यालयलाई अनिवार्य उपलब्ध गराउनु पर्ने छ ।

त्यसै गरी विद्यार्थीले मौखिक परीक्षा पनि दिनु पर्ने र मौखिक परीक्षाका लागि भिडियो कलबाट विद्यार्थीलाई प्रश्न सोधिने छ । रेकर्ड गरिने भिडियो कलमा विश्वविद्यालयको तर्फबाट एकजना एक्सर्टनल र एक जना कलेजबाट शिक्षक रहने व्यवस्था हुने छ ।

यसरि वैकल्पिक विधिबाट परीक्षा भएको खण्डमा विद्यार्थी पास हुनको लगि लिखित परीक्षामा र मौखिक परीक्षा दुबैमा अनिवार्य रुपमा पास हुनै पर्ने व्यावस्था गरिएको उपकुलपति प्रा.डा.प्रेम नारायण अर्यालले बताउनु भयो ।