काठमाडौं /२ जेठ -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा ऐन आउन ढिला भएको बताउनु भएको छ । राजनैतिक उतार चढाबका कारणले शिक्षा ऐन आउन ढिला भएको र अब आफू शिक्षा ऐन ल्याउनमा नै केन्द्रित रहने बताउनु भएको छ ।
खबर एजुकेशनसँगको फोन संवादमा मन्त्री श्रेष्ठले भन्नु भयो “अबको समय शिक्षा ऐनमा केन्द्रित रहेर छिटो भन्दा छिटो शिक्षा ऐन ल्याउनु पर्ने छ । अहिले पनि हामी २०२८ अन्तर्गत शिक्षा ऐनमा नै छौं । तर अहिलेको परिवर्तनको समयमा मुलुकलाई समृद्धि बनाउन र नयाँ ढंगले मुलुकलाई उचाइमा लग्नको लागि शिक्षा ऐन ल्याउनै पर्छ । यसका लागि विधि र कानुनसंगत तरिकाबाट नै जानुपर्ने भएकोले आर्थिक बजेटको काम सकिए पछि नयाँ शिक्षा ऐन ल्याउनका लागि मेरो ध्यान केन्द्रित रहने छ ।”
त्यसो भए तपाईको कार्यकालमा शिक्षा ऐन पक्का आउछ त ? भन्ने खबर एजुकेशनको प्रश्नमा श्रेष्ठले भन्नु भयो “यो आउन अझ ढिला भइसक्यो पहिला नै आउनु पर्ने थियो राजनैतिक उतार चढाबका कारणले शिक्षा ऐन आउँन ढिला भयो । यसलाई व्यवस्थित तरिकाबाट ल्याउन गृहकार्य गर्नुका साथै सुझाव सल्लाह लिइरहेको छु । यसर्थ आफु शिक्षा ऐन ल्याउन निरन्तर लागेको छु ।”
त्यस्तै सार्वजनिक विद्यालयका शिक्षकहरुलाई उच्च मनोबलका साथ अगाडि बढाउनु पर्ने बताउनु भएको छ । गुणस्तरीय शिक्षण संस्था बनाउन शिक्षकलाई दक्ष बनाउनु पर्छ, विद्यालयमा भौतिक सम्पन्नता हुनु पर्छ , शिक्षा नीतिले सरकारी विद्यालय प्रति विद्यार्थीको आर्कषण कसरी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीहरु दक्ष बन्नु पर्छ । यसका लागि शिक्षण संस्थाहरुमा त्यस्तै खालको ब्यवस्थापन चाहिन्छ । राज्यले शिक्षकहरुको मान सम्मान साथ इज्जत सहितको दक्ष शिक्षक बनाउनु पर्छ । राम्रा मान्छेलाई शिक्षण पेशामा आकर्षण हुने वातावरण सिर्जना गर्नु पर्छ । राम्रा मान्छे शिक्षण पेशामा आए भने मात्र गुणस्तरीय विद्यार्थीहरु उत्पादन हुन्छन । यो प्रकृयामा कसरी अगाडि बढ्ने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा रहने शिक्षा मन्त्रीले भन्नु भयो । तर यसका लागि आजको भोलि नै जादु जसरी परिवर्तन त हुदैन, मेरो उद्देश्य भनेको सार्वजनिक विद्यालयमा विद्यार्थीको आर्कषण कसरी बढाउन सकिन्छ भन्ने नै हो ।
त्यसै गरी शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिको विषयमा पहिला भएको काम प्रकृयागत रुपमा नभएको र विधिअनुसार नभइ अगाडि बढेको हुनाले आफूलाई अफ्ठेरो भएको बताउनु भयो ।
शिक्षक सेवा आयोगका पदाधिकारी सिफारिसका लागि लोकसेवा आयोगको अध्यक्ष, मन्त्रालयको सचिव र त्रिविको उपकुलपति सहितको तीन सदस्य कार्यदल रहने हुन्छ । लोकसेवा आयोगको अध्यक्ष पनि आइसक्नु भएको छ । उहाँहरुसँग सल्लाह गरेर यस भन्दा पहिलाको सिफारिसमा राम्रो गृहकार्य र व्यवहारिक नभएको देखिएकाले अब राम्रो गृहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
नयाँ प्रकृयामा जानु हुन्छ की पुरानै प्रकृयालाई मान्यता दिनु हुन्छ भन्ने प्रश्नमा मन्त्री श्रेष्ठले नयाँ पुरानो भन्ने कुरा नभएको र शिक्षक सेवा आयोगका लागि उपयुक्त योग्य व्यक्ति हुनु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो “यस अघि सिफारिस गरीएको नाम विधि र प्रकृया पूरा नगरीएका कारण रोकिएको हो । यदि प्रकृया पूरा गरीदिएको भए नियुक्ति भइसक्थ्यो । अब विधि र प्रकृया पूरा गरेर छिटै नियुक्ति गरिने छ । त्यसमा पहिला सिफारीस भएको पनि आउन सक्ने वा फेरी नयाँ प्रकृयाबाट पनि आउन सक्ने हुन्छ । तर जो आए पनि योग्य र शिक्षकहरुको भविष्यको बारेमा सोच्ने व्यक्ति हुनु पर्छ ।”
साथै प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षक र विद्यालय कर्मचारीको समस्या प्रति आफु जानकार रहेको मन्त्री श्रेष्ठले बताउनु भयो । ईसिडी शिक्षक र विद्यालय कर्मचारीको समस्या न्युनतम पारिश्रमिक पनि नपाउनु हो । यसका लागि आफु निरन्तर लागेको र कानुनले तोकेअनुसारको पारिश्रमिक पाउने बताउनु भयो ।



