काठमाडौं/१३ पुस– शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर सञ्चालनमा रहेका शैक्षिक संस्थाहरुका लागि मापदण्ड बनाएको छ । शिक्षा मन्त्रालयले २०५९ मा जारी निर्देशिकाका प्रावधान परिमार्जन गरेको हो ।
निर्देशिकामा शिक्षण संस्थामा अध्यापन गराउने सबै शिक्षकहरुको शैक्षिक योग्यता कम्तिमा द्धितिय श्रेणीमा स्नातकोत्तर हुनुपर्ने तर स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्ने शिक्षण संस्थामा कार्यक्रम अनुसार प्रत्येक कार्यक्रममा कम्तिमा एक जना विद्यावारिधि तहको शिक्षक अनिवार्य हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
यसैगरी शिक्षण संस्थाको आफ्नै जग्गा हुुनुपर्नेछ । काठमाडौं उपत्याभित्र कम्तिमा ३ रोपनी, पहाडी क्षेत्रमा ६ रोपनी र तराईमा ५ कठ्ठा जग्गा हुनुपर्नेछ । यसअघि शैक्षिक संस्था चलाउन जग्गा अनिवर्या थिएन ।
त्यस्तै, विद्यार्थी भर्ना संख्याका आधारमा स्वदेशी लगानीकर्ता भए १० र विदेशी भए २० प्रतिशत सिट महिला, गरिब तथा जेहेन्दार, दलित/पिछडिएका तथा दुर्गमका नेपाली नागरिकका लागि छात्रवृत्ति व्यवस्था गर्नुपर्ने निर्देशिकामा भनिएको छ । निर्देशिकाले औद्योगिक क्षेत्र र मूल सडकसँग नजोडिएको ठाउँमा संस्था हुनुपर्ने मापदण्ड तोकेको छ ।
यस्तै, भवन, कक्षाकोठा, चेमनागृह, शौचालय र बहुउद्देश्यीय हल, खेलकुद, सफाइ, सुरक्षा, खानेपानी, पुस्तकालय, फर्निचर, इन्टरनेट सुविधाका लागि पनि मापदण्ड तोकेको छ ।