बसको ठक्करबाट पशुपति बहुमुखी क्याम्पसका एक छात्राको मृत्यु

काठमाण्डौं/७ पुस– काठमाण्डौ–भक्तपुर चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको ज्यान गएको छ ।
सोमबार बिहान पौने ६ बजे यात्रुवाहक बसको ठक्करबाट गम्भीर घाइते भएकी २१ वर्षीय सृष्टी पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगेपछि उपचारको क्रममा त्यही उनको मृत्यु भएको हो । उनी बिबिएस चौथो वर्षमा अध्ययनरत थिईन् । गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सहपाठीको मृत्युपछि आक्रोशित विद्यार्थीले बसमा आगजानी गरेका छन । आक्रोशित विद्यार्थीहरुले काठमाडौं–भक्तपुर रुटमै चल्ने बा ४ ख ७१०४ नम्बरको अर्काे बसमा समेत आगजनी गरेका छन् । आगलागीबाट बस पूर्ण रूपमा नष्ट भएको छ भने संगै रहेको एक घरमा समेत आगोको लप्काले सामान्य क्षति पुगेको छ । आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।