फेरी उपकुलपति दोहोरीए हामीलाई स्वीकार्य हुने छैन: केयू प्राध्यापक संघ


काठमाण्डौं /६ माघ– काठमाण्डौं विश्वविद्यालयमा उपकुलपतीको नियुक्तिका लागि छनौट कमिटिमा तीन जना प्रध्यापकहरुको नाम सिफारिस गरिएको छ । त्यसमध्ये प्रा.डा.रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिसमा रहेका छन् ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री समक्ष सिफारिस गरिएका तीन जनामा डा. माकजु दुई पटक काठमाडौँ विश्वविद्यालयको उपकुलपति भइसकेका छन् । साथै, उनले पुनः तेस्रो कार्यकालका लागि आवेदन दिएका छन् । फेरी पनि उनले भिसिका लागि निवेदन दिएकाले र छनौट कमिटिद्वारा पनि उनको नाम पुनः सिफारिस गरिएकाले प्राध्यापक संघले यसमा असन्तुष्टि व्यक्त गरेको छ ।

यसरी दुईपटक विश्वविद्यालयको उपकुलपतीमा नियुक्ति भईसकेको व्यक्तिलाई फेरी पनि छनौट प्रक्रियामा लैजान नहुने, यो प्रक्रिया हाम्रा लागि अस्विकार्य छ भन्दै काठमाण्डौं विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. विवेक बरालले अस्विकार गरेका छन् ।

डा. माकजु आफैले भिसि कार्यकाल दुईचोटी भन्दा बढी बन्न नपाउने भन्ने सम्झौता प्रस्तावमा हस्ताक्षर गर्नु भएको र सो प्रस्तावलाई सभाबाट पारित समेत गरिएको बताउंदै अबको कार्यकालका लागि पनि उनले निवेदन दिनु अशोभनीय रहेको बरालको भनाई छ ।

“विश्वविद्यालयमा भिसिका लागि अन्य धेरै योग्यता भएका मान्छे पनि छन्, उहाँ मात्र किन अपरिहार्य हुनु¥पर्यो ! यदि उहाँ फेरी उपकुलपतिको रुपमा आउनु भयो भने हामीलाई स्वीकार्य हुने छैन, हामी यसलाई बहिस्कार गर्नेछौं । यसका साथै, गौरी बहादुर कार्कीको न्यायिक समितिले पनि उहाँलाई बरखास्त गर्नुपर्छ भनिएको छ , उहाँ बाहेक दुईजना मध्ये जुन आए पनि हामीले स्वीकार गर्नेछौं ।” सभापति डा. विवेक बरालले बताए ।

काठमाण्डौं विश्वविद्यालय प्राध्यापक संघका पूर्व सभापति एवं अहिलेका सल्लाहकार डा. वेदमणि दाहालले नेपाल भरि नै रहेका विश्वविद्यालयमा उपकुलपतीको छनौट विधि पद्धति नै गलत भएको र अब त्यसलाई सच्याउनुपर्छ भन्दै काठमाण्डौं विश्वविद्यालय नियम पद्धतीअनुसार नचलेको बताए । साथै विश्वविद्यालयमा यो भन्दा पहिलेका दिनहरुमा तीन जनाको छनौट समिति बन्ने तर आ–आफ्ना मान्छेलाई मात्र उपकुलपतिमा प्राथमिकता राख्ने कार्य भईरहेको हँुदा अरु धेरै योग्यता भएका व्यक्तिले अवसर नपाउने भएको हुनाले त्यसलाई सच्याउन अबको छनौट प्रक्रियामा निश्चित मापदण्ड अपनाई व्यक्तिको योग्यताअनुसार उपकुलपतीको चयन हुनुपर्ने बताएका छन ।

उनले भने “विश्वविद्यालयमा पुराना व्यक्तिहरु मात्रै रहिरहँदा पुरानै शैली मात्र भईरहने, पुरानै प्रक्रिया दोहोरीरहने भएकाले यसले समाजमा, अध्ययन र अनुसन्धानमा परिवर्तन नआउने र नयाँले अवसर नपाउने भएकाले यो पद्धतिलाई परिवर्तन गर्नुपर्छ भनेर पनि हामीले काठमाण्डौं विद्यालयको हकमा आवाज उठाएका हौं ।”

त्यस्तै, अहिले विश्वविद्यालयका उच्च पदाधिकारीहरुले विश्वविद्यालयमा आएका विभिन्न कुरा र गुनासो पनि नसुन्ने, नबुझिदिने, विश्वविद्यालयको विशिष्ट पदमा बस्न विभिन्न राजनीतिक दलसँग आवद्ध भई भिसि बन्न राजनीतिक व्यक्तिसँग हारगुहार गर्न जाने हँुदाखेरी भोलीको दिनसम्म पनि उनीहरुले मात्रै काम पाईराख्ने र उही पुरानै व्यक्तिले कार्यभार सम्हालिराख्दा विश्वविद्यालयप्रति नयाँ काम गर्ने सोच, जोश र जाँगर नहुने वातावरण सिर्जना हुन्छ । साथै नयाँ कार्यक्रम ल्याउन नसक्दा विश्वविद्यालयको शैक्षिक स्तर नै खस्किने सम्भावना भएको कारणले यसो हुन नदिन अब अरु नै भिसि आउनुपर्ने प्रा.डा. दाहालले बताए ।

यसका साथै उनले शिक्षाको स्तर खस्कन नदिन र विश्वद्यिालयले दिने गुणस्तर शिक्षाको छापलाई कायम बनाईराख्न अबका दिनहरुमा निष्पक्ष ढङ्गबाट योग्य सक्षम उपकुलपतिको रुपमा छनौट हुनुपर्ने, भिजन कार्यशैली सीप र अनुभवलाई हेरी विश्वविद्यालयलाई हाँक्न सक्ने प्रायोगिक व्यक्तिलाई प्राथमिकतामा राखेर अबको छनौट पद्धति प्रक्रियामा समेत परिवर्तन गर्नुपर्ने बताए ।

उपकुलपति सिफारिस एवं नियुक्ति गर्ने विधि तथा प्रक्रियालाई अझ पारदर्शी बनाउँदै बदलिँदो विश्व परिस्थितिअनुसार विश्वविद्यालयलाई नवीन सोचका साथ डोर्याउने शैक्षिक क्षेत्रको उन्नयन गर्दै मुलुकलाई नै मार्गनिर्देश गर्ने उद्देश्य बोकेको योग्य, सक्षम, निष्ठावान र कहिँ कतै विवादिन भएको व्यक्तिलाई उपकुलपति नियुक्त गरिदिनु हुन र दुई वा दुई कार्यकाल भन्दा बढी नेतृत्व गरिसकेका व्यक्तिहरुलाई पुनः नियुक्त नगरिदिनु हुन काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले माग राख्दै आएको छ ।