काठमाडौँ /५ माघ – उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ले काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ । ‘सर्च कमिटीले प्रा.डा. रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको हो ।
विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरिएको थियो । आवेदन मध्येबाट तीन जनाको नाम छनोट समितिले सिफारिस गरेको छ ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री समक्ष सिफारिस गरिएको तीन जनामा डा. माकजु दुई पटक काठमाडौँ विश्वविद्यालयको उपकुलपति भइसकेका छन् । साथै उनले तेस्रो कार्यकालका लागि आवेदन दिएका हुन । त्यसै गरी डा.भोला थापा सोही विश्वविद्यालयका पूर्व रजिष्ट्रार हुन । हाल काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ् विषयमा प्राध्यापन गर्दै आएका छन् । र अर्का हुन प्रा.डा. बालचन्द्र लुइँटेल उनी काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका गणित शिक्षाका प्राध्यापक हुन् ।
मन्त्रिपरिषद्ले तीमध्येबाट कुनै एक जनालाई उपकुलपति नियुक्ति गर्नुपर्ने छ । सर्च कमिटीमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना रहेका थिए ।



