यस्तै अवस्था रहे ११ मा नयाँ पाठ्यक्रम लागू होला त ?


काठमाडौं /२० भदौ – राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले यसवर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बताउँदै आएको भएपनि स्कुल तथा कलेजहरुले संकाय प्रणाली अनुसार नै विद्यार्थी भर्ना गरिरहेका छन् ।

एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै कलेजहरुले संकाय प्रणाली अनुसार भर्ना खुलाई प्रवेश परीक्षा समेत लिइरहेका छन् । शिक्षक व्यवस्थापन,कोभिड १९ को महामारी लगायतका समस्या देखाउँदै कुनै हालतमा पनि नयाँ पाठ्यक्रम लागू गर्न नसकिने स्कुल तथा कलेजहरुको भनाइ छ भने यता अधिकांश विद्यार्थी नयाँ पाठ्यक्रम लागू हुने बारे अझै अनविज्ञ नै छन् ।

पाठ्यक्रम विकास केन्द्रले भने यसवर्ष नयाँ पाठ्यक्रम नै लागू हुने बताउँदै आएको छ । कसैले लागू गर्ने या नगर्ने भन्दैमा पाठ्यक्रम लागू गर्न नरोकिने केन्द्रको भनाइ छ । केन्द्रले नयाँ पाठ्यक्रम लागू गर्नका लागि शिक्षकहरुलाई अहिले भर्चुअल माध्यमबाटै पाठ्यक्रम सम्बन्धि जानकारी गराउँदै आइरहेको छ ।

२०७६ माघ २ गते राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मुल्यांकन परिषद्ले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको केन्द्रका निर्देशक केशव भट्टराईले बताए । उनका अनुसार सरकारको अर्को निर्णय नभएसम्म यहि निर्णय लागू हुने भएकाले यसवर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुन्छ । केन्द्रले नयाँ पाठ्यक्रम लागू गर्ने सम्बन्धिमा पाँच महिना अगाडि नै स्कुलहरुमा सूचना पठाइसकेको जनाएको छ । भट्टराईले कक्षा ११ को सम्पूर्ण पाठ्यपुस्तक र पाठ्यक्रम निर्माण भइसकेको खबर एजुकेशनलाई जानकारी दिए ।