निजी विद्यालयले बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गर्ने


काठमाडौं/ ७ साउन – असार ३१ गते संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विद्यालयले सञ्चालन गरिरहेका वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरू (भर्चुवल, अनलाइन/अफलाइन, दूर शिक्षा आदि) स्थगन गर्ने निर्णय गरेका प्याब्सन, एन प्याप्सनले बिहीबारदेखि सञ्चालन गर्ने भएका छन् ।


यसै बीच नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अभिभावक महासंघ, इष्टु लगायत सरोकारवालासँग हालका समस्या समाधानको उपायका विषयमा सघन संवाद भएको विज्ञप्तिमा जनाइएको छ ।


यसै गरी साझा सरोकारका विषय र समस्याहरू समाधानार्थ आवश्यक कार्यविधि तयार पार्न एक कार्यदलको गठन समेत गरिएको तथा नेपाल सरकार, मन्त्री परिषदको श्रावण ५ गते मा सम्पन्न बैठकले २०७६ चैत्र ११ गतेबाट जारी लकडाउन समेत खोल्ने निर्णय गरिको तर शिक्षण संस्थाहरूको हकमा विद्यार्थी भर्ना लगायतका कार्यहरु भदौ १ पछि मात्र गर्ने भनि आएको निर्णयलाई पुनर्विचारका लागि संयुक्त रुपमा अनुरोध गरिएको विज्ञप्तिमा भनिएको छ । साथै श्रावण ८ गते देखि बैकल्पिक शिक्षण सिकाई क्रियाकलापहरू पुनः सञ्चालन गर्न सम्पूर्ण विद्यालयहरूलाई विज्ञप्ति मार्फत निर्देशन दिएको छ ।


विज्ञप्तिमा तत्काल अभिलेखिकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायत क्रियाकलाप थाल्न तत्काल पहल गर्न मन्त्रालयसँग अनुरोध गरिएको छ ।

निजी विद्यालयले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षकलाई बेतलबी बिदा दिने निर्णय गरेका थिए ।