काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयमा नाटक सप्ताह प्रारम्भ

काठमाडौँ/१६ चैत – काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयले सन् २०१३ देखि निरन्तर सञ्चालन गर्दै आएको विशेष कार्यक्रम “नाटक सप्ताह” प्रारम्भ भएको छ । विद्यार्थी, शिक्षक तथा अतिथिहरूको उत्साहजनक उपस्थितिमा प्रारम्भ भएको हो ।


उद्घाटन समारोहका प्रमुख अतिथि वरिष्ठ तथा प्रख्यात कलाकार श्री रवी गिरी र श्री सरोज खनाल रहेका थिए । उनिहरू दुवैले करिब आधा शताब्दी समय रंगमञ्च, टेलिभिजन तथा रजतपटमा योगदान दिएका छन् ।


नाटक सप्ताहको पहिलो दिन चैत १५ गते आईतवार कक्षा ३ का विद्यार्थीहरूले “दुःखी राजकुमारी”, “सोफिया र काले” र “फूलको भाषा” शीर्षकका तीनवटा नाटक प्रस्तुत गरेका थिए । बालबालिकाको प्रस्तुति आत्मविश्वासपूर्ण, सिर्जनशील र प्रभावकारी रहेको थियो ।


यो नाटक सप्ताहमा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले जम्मा १७ वटा नाटक प्रस्तुत गर्नेछन्, जसले विद्यालयले कलामार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा दिएको प्राथमिकता झल्काउँछ ।


उद्घाटन समारोहमा लामो समयदेखि रंगमञ्चसँग आबद्ध दुई जना अभिभावक टंका चौलागाईं र कल्पना थापा ज्युलाई विद्यालय सञ्चालक समितिको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रम नेपाल फिल्म क्याम्पसको थिएटर हलमा आयोजना भैरहेको छ ।


नाटक सप्ताह आगामी २० चैत मा समापन हुनेछ । यो नाटक सप्ताहले विद्यार्थीहरूलाई सिर्जनात्मकता अभिव्यक्त गर्ने, आत्मविश्वास बढाउने तथा रंगमञ्चीय कलाको अनुभव गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।