काठमाडौँ/९ मंसिर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहयोगी र सहायक कर्मचारीको अपुग तलब निकासा गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।
अहिले सम्म करिब ७ सय स्थानीय सरकारले रकम थपेर न्यूनतम पारिश्रमिक अनुसार तलब उपलब्ध गराएको जानकारी मन्त्रालयलाई आएको बताउँदै बाल शिक्षक र कर्मचारीहरूलाई अन्याय नगर्न आग्रह गरेका हुन् ।
मन्त्री पुनले बाल कक्षा शिक्षकका लागि १२,०००, विद्यालय सहयोगीको लागि १०,००० र विद्यालय सहायक कर्मचारीको लागि १५,००० तलब सङ्घीय अनुदानबाट पठाई सकेको जनाएका छन् । बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्न आग्रह गरेका छन् ।
साथै न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँदै यस विषयमा ट्रेड युनियनका नेताहरू नजागेको उनको भनाई छ ।
उनले भनेका छन् “शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु. १२,०००, विद्यालय सहयोगीको लागि रु.१०००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब सङ्घीय अनुदानबाट पठाई सकेको छ । बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने हो। अहिले सम्म झन्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिक अनुसार तलब ख्वाएको जानकारी मन्त्रालयलाई आएको छ। यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु । बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नु होला । यस विषयमा ट्रेड युनियनका नेताहरू खोई जागेको ? ?”



