प्रधानाध्यापक छनोट कार्यविधि : प्रधानाध्यापक लाइसेन्स अनिवार्य

काठमाडौँ/८ मंसिर – विद्यालयमा प्रधानाध्यापक छनोट गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रधानाध्यापक छनोट कार्यविधि तयार पारेको छ । उक्त कार्यविधिलाई कानुनी आधार कसरी दिने तथा कार्यान्वयनमा ल्याउने आधार खोजिरहेको छ ।


यसैगरी प्रधानाध्यापक छनोट कार्यविधिलाई प्रभावकारी बनाउन सरोकारवालाहरूसँग तिब्र छलफलमा अगाडी बढेको स्रोतले जनाएको छ । साथै शिक्षामन्त्री पुनले प्रधानाध्यापक छनोटलाई एउटा मापदण्ड बनाएर पालिकालाई जिम्मेवारी दिने तयारी भईरहेको बताए । त्यसरी छनोट गर्दा योग्यता अनुसार स्थायी शिक्षकबाटै ल्याउने गरी कार्यविधि बनेको उनको भनाई छ ।


तयार भएको कार्यविधिमा प्रधानाध्यापक पदका लागि प्रअ लाइसेन्स अनिवार्य हुने व्यवस्था गरिएको छ । त्यसका लागि शिक्षक सेवा आयोगले देशभरिका योग्यता पुगेका स्थायी शिक्षक मध्येबाट लाइसेन्स परीक्षामा सहभागी गराउन सक्ने व्यवस्था कार्यविधिमा रहेको छ ।


यसैगरी यसरी तहगत योग्यतासहितका लाइसेन्स प्राप्त शिक्षक देशभरिका कुनै पनि स्थानीय तह वा विद्यालयमा उम्मेदवार बन्न सक्ने, सोही विद्यालयमा कार्यरत भएको हुनु पर्ने बाध्यता हटाइएको, आधारभूत तहसम्म सोही स्थानीय तहभित्रबाट र माध्यमिक तहका लागि देशभरि जुनसुकै जिल्लामा कार्यरत शिक्षकले आवेदन दिन सक्ने तर स्थानीय समुदाय र वस्तुस्थितिको ज्ञान भएको हुनुपर्ने उल्लेख छ ।


प्रधानाध्यापक हुनका लागि ज्येष्ठताको आधारमा मात्र नभई स्थायी सेवा सुरु गरेको ५ वर्ष अनुभव भएको शिक्षक पनि प्रअका लाइसेन्सका लागि योग्य हुने व्यवस्था छ ।


प्रधानाध्यापक छनोट कार्यविधि कार्यान्वयनमा आएको अवस्थामा प्रधानाध्यापकको भत्ता तथा सेवा सुविधा बढाइने प्रस्ताव गरिएको छ । जसमा नियमित, दुर्गमता, विद्यार्थी सङ्ख्या र विद्यालयको गुणस्तर सुधार तथा नतिजाको आधारमा भत्ता तथा सेवा सुविधा दिइने व्यवस्था भएको स्रोतको भनाई छ । साथै प्रधानाध्यापकको अधिकार स्पष्ट किटान गरिएको छ भने शैक्षिक, प्रशासनिक तथा ५ लाखसम्म वित्तीय परिचालनको अधिकार दिइने व्यवस्था छ ।

यस्ता छन् अन्य महत्वपूर्ण व्यवस्था

१. प्रअ छनौट पछि सेवा प्रवेश तालिम अनिवार्य

२. विद्यालय विकास प्रस्ताव र आइटी सम्बन्धी आधारभूत ज्ञान अनिवार्य

३. प्रअको परीक्षण काल १ वर्ष, सेवा अवधी ५ वर्ष तर बढीमा एक कार्यकाल व्यवस्थापन समितिको सिफारिसमा थप गर्न सकिने, १० वर्षपछि अनिवार्य सरुवा

४. कार्यविधि लागु भएपश्चात् यसअघि नियमावलीसम्मत् भएका बाहेक सबै प्रधानाध्यापकले योग्यता पुगेमा लाइसेन्सका लागि आवेदन दिई पुनः नियुक्त हुन सक्ने, नियमावलीसम्मत नभएका सबै स्वतः निमित्त वा निष्कृय हुने

५. यसअघि बढीमा दश वर्षभन्दा बढी प्रअका रूपमा काम गरिरहेका सबै प्रधानाध्यापक अनिवार्य रूपमा अर्को विद्यालयमा सरुवा हुनुपर्ने

६. उत्कृष्ट कार्य सम्पादन प्रमाणित गरेका विशिष्ट कार्यक्षमता भएका प्रधानाध्यापकले रोजेको विद्यालयमा जान पाउने