काठमाडौँ/२५ असोज – राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई अनलाईन माध्यमबाट सेवा दिने गरी तयारी अगाडी बढाएको छ । छिटै नै विद्यार्थीहरूले अनलाईनबाट रजिस्ट्रेसन फारम भर्न पाउने, आवेदनहरू दिन पाउने र अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागेको बोर्डले जनाएको हो ।
यसका लागि विज्ञहरूको समिति तयार गरिसकेको र टिओआर तयार गर्न लागिएको बोर्डले जनाएको छ । अनलाईन प्रणालीमा लैजानका लागि विगत देखिनै यो सवाल उठेपनि विद्यार्थीहरूको रेकर्ड धेरै भएकाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अलमल भएको थियो । अहिले राष्ट्रिय परीक्षा बोर्डले विभिन्न तरिकाबाट र फरक फरक सर्भरमा विद्यार्थीको रेकर्ड राख्ने गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अहिलेसम्म भएका सबै रेकर्डहरूलाई फरक फरक रूपमा नराखि एउटै प्रणाली भित्र एकीकृत रूपमा राख्ने योजना अनुसार काम भईरहेको बताए । उनले पुराना सबै रेकर्डलाई पनि अनलाईनमा राखिने र विद्यार्थी आफैले आफ्नो रेकर्ड हेर्न पाउने व्यवस्था गरिने जानकारी दिए ।
शर्माले यही वर्षदेखिनै अनलाईन प्रणालीमा जाने गरी काम भईरहेको बताउँदै विद्यार्थीले हरेक कुरा अनलाइनबाटै आफै काम गर्न सक्ने र राष्ट्रिय परीक्षा बोर्ड धाउन नपर्ने गरी प्रणाली विकास गरिने दाबी गरे ।
“तत्कालका लागि विद्यार्थी आफैले घरबाटै रजिस्ट्रेसन फाराम भर्न सक्ने, आवेदन फाराम भर्न सक्ने, कुनै पनि सर्टिफिकेट लिन अनलाइनबाटै दस्तुर तिर्न सक्ने र आफ्नो रेकर्ड आफैले अनलाईनमा हेर्न सक्ने बनाउँदै छौँ । तर अहिले नै विद्यार्थी आफैले सर्टिफिकेट प्रिन्ट गर्न सकने छैनन् । यसलाई पनि निकट भविष्यमा कसरी यो सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा अध्ययन गरेर अगाडी बढ्ने छौँ” उनले भने ।
यसैगरी अनलाईन प्रणालीमा गईसकेपछि आवश्यकता हेरेर विभिन्न सरकारी निकायहरूसँग इन्ट्रिग्रेड गरिने र विद्यार्थीका सम्पूर्ण रेकर्ड अनलाइनबाटै हेर्न मिल्ने व्यवस्था हुने शर्माको भनाई छ ।